डडेल्धुरा ।
सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने बताएका छन् ।
मङ्गलबार प्रेस सङ्गठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले एमसीसी कुनै सैन्य प्रयोजन नभएकाले संसदबाट पास हुने बताए । माघ १२ गते संसद्ले सभामुख पाएपछि सरकारले एमसीसीको फाइल संसदमा पेश गर्ने र संसदबाट पास हुने उनको दाबी छ । “एमसीसी परियोजना कुनै सैन्य परियोजना हैन । हातहतियार र सशस्त्र बलसँग यसको कुनै संलग्नता छैन,” उनले भने, “एमसीसी विकास परियोजना हो । नेपालका लागि आवश्यक पनि छ ।” एमसीसी परियोजना कार्यान्वयनमा लगिने उनको भनाइ थियो ।
पार्टीभित्र केही मतभेद रहनु स्वाभाविक भएको उनको तर्क थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता देखेर अन्य दलहरू छट्पटाइरहेको उनको भनाइ थियो । कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको समेत जिम्मेवारीमा रहेका मन्त्री ढकालले संसदमा लगेका विधेयकहरू विधि प्रक्रियाबाटै लगेको जानकारी दिए । संसदमा सरकारले पेश गरेको सूचना प्रविधि विधेयकमा केही कमी भए सुधार गरेर पास हुने उनको भनाइ थियो । “संसदमा सरकारले पेश गरेको विधेयकमा केही कमी छन् भने सुध्रिएर पास हुन्छन्”, उनले भने, “सार्वभौम संसद्ले त्यसलाई परिमार्जन गर्न सक्छ ।”
रासस































प्रतिक्रिया