काठमाडौं ।
सुर्तिजन्य तथा पान मसला लगायतका वस्तुहरु अवैधरुपमा भन्सार छली गरी चोरी पैठारीमा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्र्याई लुकाई छिपाई काठमाडौं लगायत देशका विभिन्न ठाउँमा अवैध कारोबार गर्ने तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । नेपाल प्रहरी, महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले पक्राउ पर्नेमा काठमाडौंको सुन्धारा बस्ने भारत मोतिहारी घर भएका २७ वर्षिय मोहमद आदिल हुसेन, ललितपुरको खुमलटार बस्ने नुवाकोट घर भएका ३० वर्षिय नारायण बोगटी, र काठमाडौंको गौरीघाट बस्ने भारत छपराका ४५ वर्षिय उदय भनिने शरण कुमार सिंह पक्राउ परेको बताए ।
उनीहरुलाई प्रहरीले काठमाडौंको सुन्धारा, ललितपुरको धापाखेल तथा काठमाडौंको गौरीघाटस्थित गोदामबाट सामानसहित पक्राउ गरेको हो । प्रहरी उपरीक्षक सिंहले उनीहरुले सुर्तिजन्य तथा पान मसला, कपडा, मोटर पार्टस लगायतका सामाग्रीहरु भन्सार छलेर चोरी पैठारी गरी भारतबाट ल्याई सिमावर्ती क्षेत्रमा जम्मा गर्ने र काठमाडौं लगायत देशका विभिन्न ठाउँमा विक्री वितरण गर्ने गरेको पाइएको बताए । उनीहरुलाई कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाउने तयारी भइरहेको समेत उनले बताए ।
उनीहरुबाट रजनिगन्धा सिल्भर पेरिस लेखिएको प्याकेट २ हजार १५३ थान, रजनिगन्धा तुल्सी प्याकेट ३ हजार १६० थान, बबलु गोल्ड भुनी सुपारी लेखिएको सुपारीको प्याकेट ४२ थान, राज निवास पान मसला लेखिएको गुट्खाको पोका १८० थान, केशर युक्त विमल पान मसला लेखिएको प्याकेट ६० थान, गलु दन्त मन्जनको प्याकेट २७५ थान बरामद भएको छ ।
यस्तै वि–१ तम्बाकु लेखिएको पोका ९० थान, राजमा शर्मिला लेखिएको मिठा पान मसला ८१९ थान, स्नोपिक नथिना लेखिएको मिठा पान मसलाको बट्टा ६०० थान, बाबा १२० लेखिएको जर्दा पान मसलाको बट्टा ४२९ थान बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले बताए । त्यस्तै उनीहरुबाट चुरोटको बट्टा ६७ थान, कथ्थाको प्याकेट ५५ थान, गुलाब स्प्रे पान मसलाको बोतल ४४ थान, पान हनिको बट्टा ३१० थान, पास पास माउथ फ्रेस पोका २८ थान, मधु स्विट सुपारी प्याकेट ४ हजार थान, सरैया तमाखु प्याकेट ७१ थान, चैनी खैनी प्याकेट १० थान, नेपाली विडी २४ थान, कोल ट्याब्लेटको पोका थान १०, गुलको डिब्बा थान ८१२ , कालो सुर्तीको प्याकेट ४ हजार ५५० थान समेत बरामद भएको छ ।





























प्रतिक्रिया