पर्वतमा प्लास्टिकको चामल भेटिएपछि विक्री वितरणमा रोक

पर्वतमा प्लास्टिकको चामल भेटिएपछि विक्री वितरणमा रोक

केन्द्रबिन्दु
0
Shares

पर्वत।

पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् ।

गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीयवासी सशङ्कित बनेका हुन् । लामिछानेले केही समय पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भातको डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिन थालेको उनले बताए । अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि यो चामल भने ढिलो पाक्ने र खानाको स्वाद अर्कै आएकाले डल्ला पारेर उफ्रिएपछि शङ्का लागेको लामिछानेले बताए ।

आज बिहान यस्तो समस्या देखेपछि उनले तत्कालै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य सङ्घलाई खबर गरेका थिए । खबरपश्चात पुगेको टोलीले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानका लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए। शङ्कास्पद भेटिएपछि उक्त ब्राण्डको चामल कुश्माबजारमा विक्रीका लागि रोकसमेत लगाइएको छ । २५ किलोग्राम तौलको बोरामा यस्तो समस्या देखिएको हो ।
रासस

Logo