कैलाली, ५ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटके सकुम्बासीको अन्त्य गर्ने बताएकी छन् । भूउपयोग ऐन तथा प्रस्तावित भूमि सम्बन्धी ऐन कार्यान्वयन एवं सहकारी व्यवस्थापन सम्बन्धी प्रदेश तथा स्थानीय तहका पदाधिकारी सँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
राज्यले एकपटक मात्र सम्बोधन गर्ने भन्दै मन्त्री अर्यालले पटकपटक सुकुम्बासी हुने कुराको अन्त्य गरिने बताइन् – ‘अब पटके सुकुम्बासीको अन्त्य हुन्छ । सुकुम्बासी एकपटक हुन्छ, पटकपटक हुदैन । सबै सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबासीको समस्या यसैपटक समाधान हुन्छ ।’
भूमि व्यवस्थापन भनेको समग्र भूमिको व्यवस्थापन रहेको बताउदै उहाले भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार लागेको बताइन् ।
विगतमा १२ वटा आयोग बन्दासम्म समस्या समाधान हुन नसकेपनि अब सरकार १३ औं आयोग बनाएर काम सम्पन्न गर्ने तयारीमा रहेको बताइन् ।
सामाजिक न्यायका निम्ति पनि यो देशका भूमिहीन, सुकुम्बासीहरुलाई भूमिको मालिक बनाउनुपर्ने भन्दै उनले भूमी ऐन आठौं संशोधनमार्फत भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजेको बताइन् ।
भूमि बेचबिखन गर्ने कार्यमा सहजिकरण गर्नेगरी भूमि बैंकको कन्सेप्ट ल्याइएको समेत बताउदै अब उत्पादनको बृद्धि रोजगारीको सृष्टिमा जानुपर्ने भन्दै हरेक निकाय उत्पादनमा लाग्नुपर्ने बताइन् ।
विकासको मोडेलमा छलफल गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउदै उनले सहकारीलाई परिचालन गर्न सके चौतर्फी फाइदा हुने बताएकी हुन् ।
संविधानले समाजवादमा जाने लक्ष्य लिएको बताउदै त्यसका लागि ढिलो भइसकेको र समाजवादलाई पछ्याउने अभियानको थालनी गर्न आग्रह गरिन्- ‘हिजो हामी भाषण गर्ने ठाउँमा थियौं । अब काम गर्ने ठाउँमा आएका छौ काम गरौं ।’
विगतको अभ्यासअनुसार वितरण प्रणाली मार्फत जान खोजेको भन्दै मन्त्री अर्यालले सुकुम्बासीको नाममा हुकुमबासीले राज गर्ने कार्यको अन्त्य गरिने बताइन् ।





























प्रतिक्रिया