काठमाडौं ।
निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै पाँच वर्षपछि धुलिखेल–बर्दिवास सडक विस्तार गरिने भएको छ । पूर्वी तराईलाई काठमाडौँसम्म जोड्ने मार्गकारूपमा रहेको सो सडक एक लेनको भए पनि वर्षेनी सवारीसाधनको चाप बढिरहेकाले विस्तारकोे योजना बनाइएको हो ।
गत दशैँका समयमा एकै दिनमा झण्डै १४ हजार सवारीसाधन सो सडकमा गुडेका थिए । सो सडकमा सवारीसाधनको चाप बढिरहँदा विस्तारको आवश्यकता महसुस गरिएको हो । सरकारले ठूला सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको भए पनि सो सडकमा भने सडक चौडाइ कम भएकै कारण ठूला सवारीसाधनलाई प्रवेश गर्न दिने गरिएको छैन । यातायात व्यवस्था विभागले ३२ सिटभन्दा ठूला क्षमताका सवारीसाधनलाई गुड्न अनुमति दिने गरेको छैन ।
सडकमा तल्लो र माथिल्लो भागमा पहिरो रोक्नका लागि ढुङ्गा छाप्ने काम भएको थियो । त्यसलाई निकाल्दा समय र खर्च धेरै लाग्ने भएकाले त्यस बाहेक सम्भव भएका स्थानमा विस्तार गर्ने गरी योजना बनाइएको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले जनाएको छ । चार खण्डमा विभाजित भएर काम भएकामा तीन खण्डमा विस्तारको समस्या नभए पनि एउटा खण्डमा समस्या हुनसक्ने आयोजना व्यवस्थापक सूर्यबहादूर भाटले बताए ।
सो खण्डलाई पनि विकल्प सडकमा मोडिनसक्ने उनको भनाइ छ । उनले भने, “सम्भव भएसम्मको समयमा काम शुरु गर्ने गरी योजना बनाइएको छ ।” सडक विस्तारका सम्भावनाका बारेमा सर्वेक्षण आगामी फागुनदेखि शुरु गरिने उनले बताए । त्यसको प्रतिवेदन चालु आवमा आएपछि आगामी वर्षबाट काम शुरु गरिनेछ । अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया शुरु भएको छ । आगामी वर्ष निर्माण शुरु भएमा पाँच छ वर्षमा सम्पन्न हुने उनको भनाइ छ । सडक विस्तारका लागि प्रतिकिलोमिटर ३२ करोड लाग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय राजमार्गको चौडाइ सडकको मध्यभागबाट २५/२५ मिटर हुन्छ । यो सडकको निर्माण शुरु हुँदा १५/१५ मिटर सडक कायम गरी काम शुरु भएको थियो । अहिले निर्माण शुरु गर्न जग्गा अधिग्रहणको समस्या नभएको उनले बताए । व्यक्तिगत जग्गामा समस्या नभए पनि जङ्गल क्षेत्र रहेकाले रुख हटाउनुपर्ने उनको भनाइ छ ।
सो आयोजनामा अहिले नौ वटा पुल रहेकामा सबै एक लेनका छन् । ती पुललाई समेत दुई लेनका बनाइने गरी योजना अघि बढाइएको छ । कुनै पुललाई विस्तार गरिने त कतै अर्को पुल बनाएर विस्तार गर्ने योजना छ । सो सडकको निर्माण गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले अहिले विस्तारमा पनि रुचि देखाएको उनले बताए।
एक सय ६० किमी लम्बाइको सो सडकमध्ये झण्डै ९० प्रतिशत स्थानमा दुई लेन बनाउन सकिने बताइएको छ । बर्दिवास–सिन्धुलीबजार, सिन्धुलीबजार–खुर्कोट र नेपालथोक–धुलिखेल खण्ड विस्तार गर्न सकिने भए पनि खुर्कोट–नेपाल थोक विस्तार गर्न कठीन छ । सो सडकमा खैरेनीघाट पुलबाट मध्यपहाडी राजमार्गमा सवारीसाधन मोड्ने गरी योजना बनिरहेको उनले बताए । खुर्कोटबाट चियाबारीसम्म सुरुङमार्ग निर्माणको प्रस्ताव गरिएको छ ।
साँघुरो ३० किमी सडकको विकल्पका रुपमा सात किमी लम्बाइको सुरुङमार्ग प्रस्ताव गरिएको छ । उनले भने, “अन्य भागमा सडक जतिकै चौडाइको सुरुङमार्ग निर्माण गर्न सकिन्छ ।” सो सडकको निर्माण सन् १९९६ मा शुरु भएको थियो । सिन्धुलीको जुनार लगायतका कृषि उत्पादनलाई काठमाडौँसम्म ल्याउने उद्देश्यले सो सडकको निर्माण गरिएको थियो ।
धुलिखेल–नेपालथोक सडक सन् २००१ मा सम्पन्न भएको थियो भने नेपालथोक खुर्कोट सडक सन् २०११ मा सम्पन्न भएको थियो । सडक विस्तारको योजना अघि बढाइरहँदा आयोजनाले सडक स्तरोन्नतिको काम समेत गरिरहेको छ । चालु आवमा ४२ किमी सडक स्तरोन्नति गर्ने आयोजनाको लक्ष्य छ । सो सडक चार खण्ड बर्दिवास–सिन्धुलीबजारको लम्बाई ३७ किमी, सिन्धुलीबजार–खुर्कोट ३९ किमी, खुर्कोट–नेपालथोक ३२ किमी र नेपालथोक–धुलिखेल ५० किमी छ ।
रासस





























प्रतिक्रिया