नुवाकोट ।
अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किन्नुभएको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो । उसले रातेविरुद्ध सहजै जीत हासिल ग¥यो । ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गरेका थिए ।
लगत्तै फ्याक्सेका लाल श्रेष्ठले खरिद गरे । पुड्के गाउँ कटेपछि तारकेश्वर गाउँपालिका–३ जोरचौताराका कुमार अधिकारीको मन कुँडियो । विगतमा खान्की पु¥याउन नसकेर बेचेपनि पुड्केलाई पुनः घर फर्काए । “एक त ज्ञानी, अर्को माघे सङ्क्रान्तिको प्रतिस्पर्धामा अब्बल, नल्याई भो”, मुस्कुराउँदै उनले भने । कुमारले अरु बेला खनजोतमा प्रयोग गरे पनि तीन महिनादेखि पुड्केको पालनपोषणमै समय खर्चिए ।

६ वर्षको पुड्के हेर्दा सानो गाँठीको भए पनि कसिलो जुरो र मोटो सिङ छ । पहेँलोको जोडी बालखैदेखि चामल, घ्यू, नौनी, अण्डा खान्थ्यो । खेती कमाइ नियमित दिँदै आएको छ । बाबुसँगै छोरा श्यामसुन्दर उसकै स्याहारसुसारमा लाग्थे । अन्ततः उनीहरुको प्रयास खेर गएन ।
यसपालि बुधबार नुवाकोटको तारुकामा भएको प्रतिस्पर्धामा हक्वाँ… हक्वाँ गर्दै पुडके आयो । एक छिन खुट्टाले जमिन खोस्रयो, जमिनमै सिंगौरी खेल्यो । रातमाटे धुलोमा रुमल्लियो । लगत्तै आयो लाले । विकास भण्डारीको लालेसँग ऊ सात मिनेट भिड्यो । भिडन्त अवधिभर घमासान भयो । लाले जब्बर थियो । पुष्ट, मोटो अनि सर्लक्क परेको जीउ देख्दा लालेले हार्छ भन्ने दर्शकले सोचेकै थिएनन् । बेलाबेलामा पुड्केले काँध दिन्थ्यो । दर्शक अब पुड्केले हार्न लाग्यो भन्थे । हुटिङ आउँथ्यो । पुड्केका मालिक कुमार हरेस नखाई मैदानमै थिए । उसको जुक्ति र दाउ उनलाई प्रष्ट थाहा थियो ।
अधिकारीले भने, “थर्काउन उसले काँध (आड) दिन्छ, जित्न कला चाहिन्छ, बल भएर हुँदैन, सिङले भेटेन भने थुतुनाले उधिनेर पाखा लगाउँछ, घुमीघुमी सबै उपाए अपनाउँछ, पुड्केमा यही विशेषता छ ।” उनले गोरुको हारजित सामान्य भए पनि पुड्के हार्ने गोरु नभएको प्रतिक्रिया दिए ।
“ज्यान सानो छ तर ‘पावरदारी’ छ, अर्कोको बल धेरै थियो तर बुद्धि र शैली पुगेन, पुड्केको बुद्धि भनेको दाउ हेरेर ठाउँ हेरेर कोख्याउन सक्ने हो ।” अधिकारीले जीतपछि भने । उनका अनुसार पुड्केले खाउञ्जेल घाँस दिने गरिएको छ । दिनमा पाथीभन्दा बढी अनाज खान्छ । गोरु जुधाउन श्यामसुन्दर पनि आएका थिए । परिवारको सदस्य झैँ पालिएको पुड्केले जितेपछि खुशी भएका उनले गोरुलाई अँगालो हालेर खुशी साटे ।
तारुकामा २१ हल जुधे
पुड्के र लालेसहित यसपालि नुवाकोटको तारकेश्वर गाउँपालिका–३ स्थित चन्दनीको कटरफेदमा २१ हल प्रतियोगी गोरु जुधे । एक हल अप्रतियोगी थियो । रेवती बखरेलले ६ वर्षको मालेलाई पहिलोपटक सहभागी गराए । सिउरेनीका राजकुमार श्रेष्ठको रातेसँग माले दुई मिनेट पनि टिकेन ।
अर्जुन भण्डारीको मृगे र नवराज ढकालको काले २४ मिनेट भिडे । अन्ततः मृगेको सामु काले निरिह बन्यो । शुरुमा घमासान लडेको विष्णु श्रेष्ठको फुर्के हीरालाल श्रेष्ठको बाबुसँग नौ मिनेट भिडेर भाग्यो । केही गोरु रगताम्मे हुँदा पनि लडे । केही गोरु मैदानमा जुध्दै नजुधी फर्किए । केही गोरु मैदानमा साथी बनेर फर्किएको रोमाञ्चक क्षण देखिएको थियो ।
यहाँ देखिएको फरकफरक दृश्य हेरेर उपस्थित दर्शकले मनोरञ्जन लिएका थिए । युवापुस्ता सेल्फी लिँदै सामाजिक सञ्जालमा ‘लाइभ’ र ‘पोष्ट’ गर्दै थिए भने बूढापाकाले वास्तवमै मनोरञ्जन लिएका थिए । मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मदनकुमार श्रेष्ठ नेपालको गौरव र तारुकाको पौरखको रुपमा रहेको गोरु जुधाउने मेला यहाँको संस्कृति भएको बताउँछन् ।
रासस





























प्रतिक्रिया