पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध

पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको ठमेल क्षेत्रमा आउने पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताइएको छ । ठमेल पर्यटन परिषद्ले महानगरीय प्रहरी वृत्त दरबारमार्ग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका नयाँ प्रहरी प्रमुखको स्वागतमा आयोजना गरेको कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन ठमेल क्षेत्रको सुरक्षालाई मजबुद बनाउनुपर्ने बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले ठमेल क्षेत्रको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारीपूर्वक काम गर्ने बताए । “ठमेलभित्रको सुरक्षा चुनौतीलाई समाधान गर्न परिषद्को साथ सहयोग प्रहरीलाई आवश्यक छ,” उनले भने ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अस्मिता कपालीले मुलुकको आर्थिक मेरुदण्डको आधार मानिएको पर्यटन क्षेत्रको सुरक्षाका लागि पर्यटक प्रहरीले सहयोग गर्ने बताए। ठमेल पर्यटन परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले समृद्धिको मुख्य आधार शान्ति सुरक्षा भएकाले शान्ति सुरक्षालाई मजबुत बनाउन सबै लाग्नुपर्ने बताए ।

सोही अवसरमा वृत्त दरबारमार्गबाट सरुवा भएर गएका प्रहरी नायब उपरीक्षक विनोद घिमिरे, पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपबाट सरुवा भएका अमृतबहादुर बस्नेत र ट्राफिक प्रभाग ठमेलबाट सरुवा भएका प्रहरी नायब निरीक्षक धर्मराज घिमिरेलाई बिदाइसमेत गरिएको थियो ।

Logo