काठमाडौं ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन् । १४ औँ साधारणसभाले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । पाण्डेको यो दोस्रो कार्यकाल हो । यसअघि ०७२ फागुनदेखि ०७४ चैतसम्म उनले इक्यानमा अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । उनको दोस्रो कार्यकालमा शैक्षिक परामर्श संघका लागि के कस्ता योजना छन् त ? प्रस्तुत छ। आजको केन्द्रबिन्दु ५ प्रश्नमा केन्द्रविन्दुकर्मी जितेन्द्र रसिकले अध्यक्ष पाण्डेसँग गरेको कुराकानी ।
प्रश्न १
ईक्यानको नयाँ अध्यक्षमा पुनः चुनिनु भएको छ । ईक्यानलाई अब कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ ?
शिक्षा नीति शैक्षिक परामर्श व्यवसायमैत्री छैन । त्यसैले सुरुमा हामी शैक्षिक परामर्शसँग जोडिएर बनेका नीति तथा नियमहरु संसोधन गर्नतर्फ लाग्ने छौं । शैक्षिक परामर्श व्यवसाय विदेशी कुटनीति नियोगसँग जोडिएकाले पनि यसको नीति नियम संसोधन र व्यवस्थापनमा केन्द्रीय सरकारले नै काम गर्नुपर्ने हुन्छ । त्यसैले मेरो कार्यकालमा शैक्षिक परामर्श व्यवसायमा राम्रो नीति बनाउन के कसरी सकिन्छ त्यसैमा लागि पर्नुपर्ने चुनौती छ । यहि कार्यमा लागि पर्छौं । शिक्षा मन्त्रालय र राज्यले नबुझेका विषयहरुलाई बुझाउँदै शिक्षा नीतिमा परिवर्तन गर्नुलाई नै प्राथमिकता राखेर काम गर्नेछु । बुझ्नु भएन भने के गरेर बुझाउन सकिन्छ बुझाउँछौं । त्यसरी पनि बुझेन भने आन्दोलन गरेर भए पनि शिक्षा नीति परिवर्तन गर्न हामी लागि पर्नेछौं ।
प्रश्न २
त्यसो भए मुलुकमा शैक्षिक सु्धार हुन नसक्नु्मा नीति नियम नै जिम्मेवार हो ?
हो । हामीले शैक्षिक नीति र नियम समय सुहाउँदो बनाउन नसकेका कारण मुलुकलाई शैक्षिक गन्तव्य बनाउन सकेका छैनौं । सरकारले यहाँको शैक्षिक क्षेत्रलाई सुधार गरेर लैजाने नीति भन्दा बढी जानी जानी विदेश जान रोक्नकै लागि हरेक टेक्निकल शिक्षाको लागि इन्ट्रान्स पास गरेरै जानुपर्ने बाध्यता मात्र सृजना गरेको छ । हाम्रो राज्यभित्र सेमेष्टर सिष्टममा अध्यापन सुरु भइसकेको छ । तर ६/६ महिनामा भर्ना गर्नुपर्ने प्रणाली किन सुरु गर्दैन सरकारले ? सेमेष्टर सकेर पनि एक वर्षसम्म समय ‘लस्ट’ गरेर कुर्नुपर्ने बाध्यता छ विद्यार्थीलाई । त्यसैले पनि नेपाली विद्यार्थी मुलुकमा पढ्न छोडेर विदेशका विश्वविद्यालयलाई शैक्षिक गन्तव्य बनाइरहेका छन् । उनीहरुलाई नेपालमै गुणस्तरिय र अध्ययन सकेपछि शिक्षामा लगानी अनुसारको फल दिने रोजगारीको ग्यारेन्टी गर्न सकेको छैन सरकारले । त्यसैले पनि नीति सुधार अत्यावश्यक छ ।
प्रश्न ३
यो व्यवसायको भविष्य कस्तो छ ?
शैक्षिक परामर्श व्यवसायको भविष्य सुन्दर छ । तर अहिले मुलुकको शैक्षिक क्षेत्र रोजगारमुखी हुन नसकेका कारण विदेशमा पढ्न जाने विद्यार्थीको संख्या बढ्दो छ । विडम्वनाको कुरा के हो भने हामी विदेश अध्ययन गर्न जाने विद्यार्थाीलाई शैक्षिक परामर्श दिइरहँदा यस्तो एउटा दिन आओस भन्ने लाग्छ कि विदेशबाट नेपालमा पढ्न आउने विद्यार्थीलाई शैक्षिक परामर्श दिन पाइयोस् । तर अहिलेको मुलुकको शिक्षा नीति यस्तो अवस्था सृजना गर्ने खालको छैन । बरु कुनै मुलुकको भाषा पढ्न समेत विश्व विद्यालयनै जानुपर्ने बाध्यता छ । भर्ना प्रक्रियाले आफूले चाहेको बेला भाषा समेत पढ्न पाएका छैनन् । रह्यो कुरा शैक्षिक परामर्शको भविष्य । सरकारले शिक्षा नीति सुधार ग¥यो भने शैक्षिक परामर्श व्यवसायीको मात्र होइन मुलुककै भविष्य सुन्दर हुन्छ ।
प्रश्न ४
हामी श्रमशक्तिसँगै बौद्धिक शक्ति पनि निर्यात गरिरहेका छौं । अब मुलुकभित्रै शैक्षिक परामर्श दिने दिन आओस् र मुलुकमै अन्तर्राष्ट्रिय स्तरको बौद्धिक शक्ति निर्माण होस् भन्ने लाग्छ कि लाग्दैन ?
हुनुपर्ने यहि नै हो । तर हामी बाध्य भएर अवसर खोज्दै विदेशमा पढ्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिंदै छौं । सरकार शिक्षा क्षेत्रमा सुधारको नीति ल्याउनुभन्दा पनि विदेश जानेलाई रोक्नुपर्छ भन्ने मानसिकतामा मात्र देखिन्छ । विदेश जानेलाई रोक्नुभन्दा पहिले विद्यार्थीको सुन्दर भविष्यको विकल्प दिन सक्नुप¥यो नि । अध्ययन सकेपछि स्वदेशमै आकर्षक रोजगारीको सृजना गर्न सक्यो भने त मुलुकभित्रै शैक्षिक परामर्श व्यवसायको भविष्य पनि राम्रो हुने मुलुकको शैक्षिकस्तर पनि राम्रो हुन्थ्यो । तर राज्यको ध्यान त्यता छैन । महँगोमा नेपाली विद्यार्थी विदेशमा डाक्टर पढ्न गइरहेका छन् । तर सरकार मुलुकभित्र मेडिकल पढाउने विश्वविद्यालयहरुलाई सम्वन्धन दिनै चाहँदैनन् । मुलुकमा थुप्रै मेडिकल वा अन्य विश्वविद्यालय स्थापना गरि गुणस्तर शिक्षा दिन सके कोहि पनि नेपाली बाहिर पढ्न जाने बाध्यतामा पर्दैनथ्यो बरु विदेशबाट समेत नेपालमा अध्ययनका लागि विद्यार्थी आउन सक्थ्यो त्यतातर्फ राज्यको ध्यान जान सकेन ।
प्रश्न ५
नेपाल भ्रमण वर्ष २०२० का लागि तपाईंहरुको योगदान के रहने छ ?
नेपाल भ्रमण वर्ष २०२० को एउटा कमिटिको सदस्य नै छौं । हामीले नेपालबाट बाहिरिने हरेक विद्यार्थीहरुलाई भ्रमण वर्षको सन्देश लान परामर्श दिने गरेका छौं । हामीसँग परामर्श लिएर जाने विद्यार्थीहरुले विदेशबाट नेपालमा आउन चाहने पर्यटकलाई नेपालको विषयमा प्रशस्त जानकारी दिन सकिने गरि नेपाल भ्रमणवर्षको पनि परामर्श दिएर पठाउने गरेका छौं ।





























प्रतिक्रिया