आजदेखि मौसम सफा हुँदै जाने

आजदेखि मौसम सफा हुँदै जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना शाक्यले बताइन् । “आज मध्याह्नसम्म देशैँभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ”, मौसमविद् शाक्यले भनिन् । बेलुकापखबाट मौसम क्रमिक सुधार भई जाने जनाइएको छ ।

राति देशका मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन तथा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १३ दशमलव सात डिग्री सेल्सियस रहेको थियो ।

Logo