दमौली ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्धिको बाटोतर्फ अगाडि बढ्न सक्ने बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा विहिबारदेखि दमौलीमा शुरु भएको सातौं तनहुँ महोत्सवको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले यी तीन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउनु पर्नेमा जोड दिए।
कृषि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा शक्तिको विकासबाट मात्रै मुलुक समृद्ध हुनसक्ने भएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने वरिष्ठ नेता पौडेलले बताए । यद्यपि नेता पौडेलले सरकारले विकासको प्राथमिकता पहिचान गर्न नसकेको बताए । “सरकार अलमलिएको जस्तो देखिएको छ, विकासको प्राथमिकता पहिचान गर्न सरकारले सकिरहेको छैन,” उनले भने ।
वरिष्ठ नेता पौडेलले वर्तमान सरकारको नारा ‘समृद्ध नेपाली, सुखी नेपाली’ नपालकै भएकाले यसतर्फ विचार गर्नुपर्नेमा जोड दिए । काँग्रेसले शुरु गरेको विकास निर्माणका काममा वर्तमान सरकारले बजेट कटौती गरेको वरिष्ठ नेता पौडेलले आरोप लगाए । “काँग्रेसले शुरु गरेको विकासका काम अहिले अलपत्र परेको छ,” उनले भने ।
वरिष्ठ नेता पौडेलले उद्योगी व्यवसायीको संरक्षणका लागि काँग्रेस प्रतिबद्ध रहेकोले स्थानीय व्यवसायी आफ्नै जिल्लाको विकासमा लाग्नुपर्नेमा सुझाव दिए । दमौलीमा पैसा कमाउने तर लगानी नगर्ने प्रवृत्ति रहेको बताउँदै नेता पौडेलले काठमाडौंमा लगानी गर्नुको साटो यहीँ लगानी गरे जिल्लाको विकास सम्भव रहेको चर्चा गरे ।
नागरिक अधिकार सङ्कुचन गर्नेतर्फ सरकार लागेको आरोप लगाउँदै पौडेलले बोल्न नपाउने गरी बनाउन लागिएको कानूनले लोकतन्त्र खतरामा पर्ने बताए । “सरकार अहिले नागरिकको अधिकारमाथि धावा बोल्ने गरी कानून बनाउँदैछ, यसतर्फ सबै सचेत हुनुपर्ने बेला आएको छ ।”
कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्त, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक, सरिता गुरुङ, ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष बसुन्धरा घर्तीलगायतले स्थानीयस्तरमा सञ्चालन हुने मेला महोत्सवले कला, संस्कृतिको संरक्षणका साथै कृषि उपज वस्तु बिक्री वितरणका लागि टेवा पु¥याउने बताए ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर शुरु भएको महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुनेछ । जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गर्दै समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, कृषि, पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक एवं सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले जानकारी दिए ।
रासस





























प्रतिक्रिया