काठमाडौं ।
सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले समाचार लेखेको देख्दा आफूलाई कहिले त राजीनामा दिउँ जस्तो लाग्ने गरेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् । बाँस्कोटाले पत्रकारको हकहित भन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने पनि बताएका छन् ।
उनले हावादारी समाचार नलेख्न पत्रकारहरुलाई सुझाव पनि दिए । कमिसन पत्रकारिता छाडेर व्यवसायिक बन्न पनि उनले पत्रकारहरुलाई सुझाए । उनले फरक प्रसंगमा आफू मन्त्री बनेपछि कमिसन दिन आउनेहरूको नामसहित लेखनमा पनि आफू सक्रिय रहेको बताए । मन्त्रि बाँस्कोटाले ५ करोड ३४ लाख पत्रकारिता वृद्धि विकास कोषमा राखिदिएको र आगामी दिनमा १० करोड रूपैयाँ पुर्याउने मन्त्री बाँस्कोटाको भनाइ थियो ।
म सधैं पदमा रहन्न । पदको घमण्ड पनि छैन । भोलि फेरि चप्पल प्याट प्याट पड्काएर पत्रकारकै साथमा हुन्छु । नेगेटिभ कुरा मात्र नलेखौ पोजेटिभ समाचार पनि खोजी खोजी लेखौं , बाँस्कोटाले भने ।
कार्यक्रममा पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्कर बुढाथोकीले २०५४ साल अघिसम्म भक्तपुरमा हुने हरेक साना ठूला कार्यक्रम र घटनाहरुको समाचार संकलनका लागि काठमाडौं र सञ्चारमाध्यमहरुका केन्द्रबाट पत्रकार आउनुपर्ने अवस्था रहेको विगत स्मरण गरे ।
यस्तै प्रेस जगतलाई संकुचन गराउने मिडिया विधेयक सच्याउन महासंघको दबाबपछि नै सरकारले समिति बनाएर छलफल गरिरहेको महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य ले बताए ।
स्थापना दिवसको अवसर पारेर स्थानीय पत्रकार अमर भुजुलाई मैयादेवी पुरस्कार, ध्रुव मधिकर्मीलाई स्वर्गीय भगवान महर्जन स्मृति पुरस्कार प्रदान गरिएको थियो ।





























प्रतिक्रिया