अब सार्वजनिक गाडीमा गीत बजाउन नपाइने

अब सार्वजनिक गाडीमा गीत बजाउन नपाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सार्वजनिक यातायातका साधनमा अब गीत बजाउन नपाइने भएको छ। सार्वजनिक गाडीमा गीतकै कारणले दुर्घटना बढ्दै गएको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचना मार्फत म्युजिक सिस्टम नराख्न निर्देशन दिएको हो । सवारीसाधनको क्याविनमा सजाइएका सामान र म्युजिक सिस्टम नराख्न विभागले निर्देशन दिएको छ। म्युजिकमा चालकको ध्यान जाँदा गाडी दुर्घटना हुने गरेको विभिन्न अध्यायनले देखाएकाले म्युजिक सिस्टम नराख्न निर्देशन दिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

‘गाडीमा गीत बजाउँदा र गीत परिवर्तन गर्दा चालकको ध्यान सवारीबाट बाहिर गएर दुर्घटना हुने सम्भावना धेरै हुने भएकाले यस्तो नियम लागु गरिएको हो,’ उनले भने, ‘सवारी दुर्घटनालाई न्युनिकरण गर्न हामीले लागिपरेका छौं।’ सवारीसाधनमा बज्ने गीतसंगीत मात्र नभई अगाडी सिसामा सजाइएका झल्लर, लेसलगायतका सजावट सामग्री पनि दुर्घटनाको कारण भएको भन्दै विभागले यस्ता सामग्री पनि नराख्न निर्देशन दिएको उनले बताए।

महानिर्देशक हमालका अनुसार गाडीमा राखिएका सजावटका सामग्रीले चालकको ध्यान अन्यत्र पुर्याउने अध्यायनबाट देखिएकाले यस्तो नियम ल्याउनु परेको हो। सार्वजनिक गाडीमा अनावश्यक फोटो, स्टिकर नटाँस्न र साहित्य नलेख्न पनि विभागले निर्देशन गरेको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित यातायात समितिका कार्यालय र ट्राफिक प्रहरीलाई पत्राचार गरिएको महानिर्देशक हमालले बताए । विभागको निर्देशन कार्यान्वयन नगर्ने गाडी चालकलाई सवारी जाँचपास नदिने उनले बताए ।
नागरिकबाट

Logo