पशुपतिनाथका काठ मक्किए

पशुपतिनाथका काठ मक्किए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पशुपतिनाथ मन्दिरको काठ कुहिएको छ । तीनतले मन्दिरको बीचको तलाका केही काठ कुहिएको हो । आँखीझ्याल अड्याउने फ्रेम पनि कुहिएको छ ।

‘बीच तलामा रहेका आँखीझ्याल अड्याउने नौ फिटका केही काठ कुहिएको छ’, पशुपतिनाथ मन्दिर अध्ययन समितिका सदस्य प्रेमहरि ढुंगानाले भने, ‘कुहिएको काठको नमुना निकालिएको छ। त्यसलाई पुरातत्त्व विभागको रासायनिक प्रयोगशालामा परीक्षण गर्ने तयारी छ।’

विभागले पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा भूकम्पपछि मन्दिर जीर्णोद्धारबारे अध्ययनका लागि गठित समितिको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो । उक्त तलामा भण्डारीलाई बालाचतुर्दशीको अघिल्लो दिन मात्र प्रवेश दिइन्छ। सोही क्रममा उनीहरूले काठको नमुना निकालेका थिए।

विभागको विश्वसम्पदा शाखाका प्रमुख सुरेशसुरस श्रेष्ठको संयोजकत्वमा श्री पशुपतिनाथ मन्दिर अध्ययन समिति गठन गरी मंसिर १ देखि काम थालिएको थियो। समितिमा विभागका इन्जिनियर शाखाका प्रमुख सम्पत घिमिरे, स्ट्रक्चरल इन्जिनियरद्वय पुरुषोत्तम डंगोल र सुरज मल्ल, आर्किटेक्टद्वय शोभा महर्जन र सुदिन, पुरातत्व अधिकृत देवेन्द्र भट्टराई र पशुपति क्षेत्र विकास कोषको संस्कृति महाशाखाका प्रमुख प्रेमहरि ढुंगाना, इन्जिनियर पुरुषोत्तम खतिवडा र विसेट नाइके अरुण श्रेष्ठ छन् । बीच तलाको अध्ययन भइसकेको छ। भण्डारीलाई नौ दिन तालिम दिएर उक्त तलामा पठाइएको थियो। बाला चतुर्दशीको अघिल्लो दिन उनीहरू नागमणि र एकमुखे रुद्राक्ष निकाल्न त्यहाँ प्रवेश गर्ने चलन छ।

आँखीझ्यालभित्रको अवस्था समितिले यसै साता जाँच गरेको छ। समिति संयोजक सुरेशसुरस श्रेष्ठले भने, ‘काठका चौकोस कुहिएका छन्। ‘आधार दिने मुख्य काठमा समस्या देखिएन। तर, सचेत भएर समयमै मर्मत गर्नुपर्ने देखिन्छ।’
अन्नपूर्णबाट

Logo