काठमाडौं ।
काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालन हुने मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोनोरेलको डीपीआर तयार भएको जानकारी दिए । चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) र महानगरबीच गत पुसमा डीपीआर निर्माण सम्बन्धी सम्झौता भएको थियो। सीआरसीसी र महानगरबीच एक वर्षभित्र डीपीआर तयार गर्ने सहमति भएको थियो।
‘चिनियाँ कम्पनीले मोनोरेलको डीपीआर बुझाएको छ। डीपीआरको अध्ययन गर्न बाँकी छ’, शाक्य बताउँछन्, ‘आइतबारसम्म अध्ययन गर्नेछु।’
सम्भाव्यता अध्ययन अनुसार चक्रपथमा रेल सञ्चालन गर्न एक खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सम्भाव्यता अध्ययनले देखाएको सम्भावनालाई मुर्तरुप दिन डीपीआर गरिएको हो। मोनोरेल चक्रपथमा तीन चरणमा निर्माण गरिनेछ । कोटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-कोटेश्वर खण्डमा हुनेछ। एक सय किलोमिटर प्रतिघण्टा गुड्ने रेलले एक पटकमा एक हजारभन्दा धेरै यात्रुलाई सेवा दिने अनुमान गरिएको छ।
चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपनाजस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्प सिफारिस गर्नेछ। डीपीआरमा मोनोरेल निर्माण हुने उपत्यकाको साढे २७ किमि दूरीभित्रको माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने, रेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यस्थापनको अनुमान, योजना सञ्चालनका चरणसहितको विश्लेषण पनि गरिएको छ। डीपीआरमा प्राप्त भएको विवरण पूर्ण वा आंशिक रूपमा स्वीकार गर्ने अधिकार भने महानगरलाई नै हुनेछ। यो अध्ययन रिपोर्टको आधारमा काठमाडौं महानगरपालिकाले मोनोरेल निर्माणको प्रक्रिया अघि बढाउनेछ।
अन्नपूर्णबाट





























प्रतिक्रिया