जलवायु दिवस सिन्धुपाल्चोकको गुफाडाँडामा

जलवायु दिवस सिन्धुपाल्चोकको गुफाडाँडामा

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन र असरका विषयमा नेतृत्व गर्दै यस वर्ष पनि गुफाडाँडामा जलवायु दिवस मनाएको छ । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अब सबै स्थानीय तहले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा मन्त्री बस्नेतले अरू विकसित देशका कलकारखानाले उत्सर्जन गरेका कार्बन मोनोअक्साइड, कार्बनडाई अक्साइड जस्ता ग्यासको कारणले गर्दा नेपालजस्तो देशले असर भोग्नु परेको बताए । पूर्व वन तथा वातावरणमन्त्री अग्निप्रसाद सापकोटाले यस्ताखाले दिवस मनाएर मात्र नहुने भन्दै नेपाल जस्तै अन्य देशले जलवायुमा परेको असरप्रति चासो देखाउनु पर्ने बताए । गत वर्ष देशभरका जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखसहित जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत सरोकारवालाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गरेको सम्मेलनस्थल गुफाडाँडामै यस वर्ष पनि जलवायु दिवस मनाइएको हो ।

जलवायु दिवस ०७६ मा सिन्धुपाल्चोकबाट सङ्घ र प्रदेशमा प्रतिनिधित्व गर्ने मन्त्री, सांसद, पूर्वमन्त्री, जिल्लाका १२ वटै स्थानीय तहका निर्वाचित प्रतिनिधि र सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

सिन्धुपाल्चोक यसै पनि जलवायु तथा वातावारणीय जोखिमको हिसाबले अगाडि छ । जुरे पहिरोबाट जनधनको क्षति र भोटेकोशी नदी थुनिएको, ०७२ साल वैशाख १२ को भूकम्पमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति व्यहोरेको, भोटेकोशी बाढीले क्षति पुगेको चोटले सिन्धुपाल्चोकले यो विषयको उठान गरिरहेको र निरन्तरता दिइरहेको समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले बताए । गत वर्ष भएको प्रथम राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा जिल्लामा जलवायु परिवर्तनले पारेको असरको विस्तृत अध्ययन गरिएको थियो । प्रारम्भिक अध्ययन अनुसार बिगत ३० वर्षमा (सन् १९८७-२०१७) सिन्धुपाल्चोक र आसपासको जिल्लामा रहेको जलवायु मापन केन्द्रको तापक्रम र वर्षा तथ्याङ्कको विश्लेषण गरिएको थियो ।

कार्यक्रममा सिन्धुपालचोकबाट सार्क खेलमा स्वर्ण पदक विजेता सिन्धुपाल्चोकका खेलाडीलाई सम्मान गरिएको थियो । जलवायु परिवर्तन सम्बन्धी वक्तृत्वकला कार्यक्रममा सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहका प्रतिनिधि विद्यार्थीहरुको प्रस्तुति थियो ।
रासस

Logo