राष्ट्रियसभा निर्वाचन : आयोग तात्यो, दलको तयार छैनन्

राष्ट्रियसभा निर्वाचन : आयोग तात्यो, दलको तयार छैनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको समय ४ दिन मात्र बाँकी छँदा पनि प्रमुख दलले उम्मेदवार छनोट गरेका छैनन् । निर्वाचन आयोगले आगामी आइतबार उम्मेदवार दर्ताको समय तोकेको छ । तर दलले उम्मेदवार छनोटका लागि गृहकार्य समेत गरेका छैनन् ।

राष्ट्रिय सभामा रिक्त १८ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ। एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछ। निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरी उम्मेदवार दर्ताको पर्खाइ गरिरहे पनि दलहरू भने अझै तातेका छैनन्। अधिकांश स्थानमा चुनाव जित्ने निश्चित देखिएको सत्तासीन नेकपाले दुई नम्बर प्रदेशमा राजपासँग चुनावी तालमेल गरेको छ। प्रदेश २ बाट नेकपा र राजपाले २/२ सिटमा तालमेल गरेका छन्। यी दुई दल मिल्दा चुनाव जित्ने निश्चित छ।

महासचिव विष्णु पौडेलका अनुसार नेकपाको बिहीबार बस्ने सचिवालय बैठकमा राष्ट्रिय सभा उम्मेदवारबारे छलफल हुनेछ। पार्टीका प्रदेश कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न नेकपाले पहल गरेको छैन।

‘तल्लो कमिटीका साथीहरूका भावना समेटेर उम्मेदवार तय गर्छौं’, महासचिव पौडेलले भने। टिकट पाए चुनाव जित्ने निश्चित जस्तै रहेकाले टिकट पाउन शीर्ष नेताकोमा दौडधुप भइरहेको नेताहरूले बताएका छन्।

यता विपक्षी कांग्रेसले पनि उम्मेदवारको टुंगो लगाएको छैन। कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार २ नम्बर प्रदेशमा समाजवादी पार्टीसँग चुनावी तालमेलको तयारी भइरहेको छ। तर, कांग्रेस र समाजवादी मिले पनि दुई नम्बर प्रदेशमा चुनाव जित्ने सम्भावना कम छ। राजपा र समाजवादीले पनि उम्मेदवार टुंगो लाग्न बाँकी रहेको बताएका छन्।

राष्ट्रिय सभा सदस्यको म्याद सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण आगामी माघ ९ मा चुनाव हुन लागेको हो। सत्तासीन नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल समाप्त हुँदैछ।
अन्नपूर्णबाट

Logo