सुदूरपश्चिम प्रदेश : देउडामय बन्यो, भ्रमण वर्षको शुभारम्भ

सुदूरपश्चिम प्रदेश : देउडामय बन्यो, भ्रमण वर्षको शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

धनगढी ,

‘अपि शैपाल शिरको टोपी, मालिका सिरानी । बोली भाखा मुटु हजुर संस्कृति परानी…।’ सुदूरपश्चिमका चर्चित देउडा गायक सूर्यविरही साउदले बुधबार भएको भ्रमण वर्ष २०२० को शुभारम्भको विशेष समारोहमा प्रस्तुत देउडा गाउँदाको परिवेश देउडामय बन्यो ।

मिठोस्वर र सङ्गीतमा देउडा प्रस्तुत भइरहँदा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सभामुख, उपसभामुख, प्रदेशसभा सदस्यसहितका अन्य सर्वसाधारणलाई गोलबन्द भई देउडा खेलेर भरपुर आनन्दमा रमाउने अवसर समेत दियो ।

सुदूरपश्चिम प्रदेशको प्रकृतिको सुन्दरता र देवस्थलको महत्व दर्साएको प्रस्तुत गीतको रचना साउदले गरेका हुन् । गायक साउदलाई गायिक निर्माला खत्रीले पनि सुरिलोस्वरमा साथ दिएकी थिइन् । मञ्च अगाडिको स्थलमा गोलबन्द भएर खेलिएको मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभाका सदस्यसहितको देउडाको ठूलो समूहलाई उपस्थित अन्य दर्शकले पनि उमङ्गका साथ मच्चीमच्ची साथ दिएका थिए ।

विशेष समारोहमा पालैपालो प्रस्तुत पहाडीमूलका बासिन्दामाझ चर्चित र लोकप्रिय छलिया, भुवा, गौरा र हुड्के नाच होस् कि तराईवासीको लोकप्रिय सखिया, मुङ्ग्रहवा, होली नृत्यले सहभागीलाई फरक–फरक लोक संस्कृतिमा रमाउने अवसर पनि प्रदान ग¥यो ।

तीन हप्ता देखिको निरन्तरको शीतलहरले बढेको चिसोले कठिनाई भोग्दै आएका स्थानीय सर्वसाधारणले बुधबार नेपाल भ्रमण वर्षको शुभारम्भ भइरहँदा आकाश खुला भएर घाम लागेपछि भएको न्यानोको अनुभूतिसँगसँगै र लोक संस्कृतिमा पनि रमाउन पाएका हुन् । समारोहमा सुदूरपचिम प्रदेशका पर्यटन सद्भावना दूतमा नियुक्त कलाकार रवि ओडको प्रस्तुतिले थप रौनक दिएको थियो ।

समारोहमा साहित्यकार पदमराज जोशीले सुदूरपश्चिमको संस्कृति, जीवन पद्धति र परिचय झल्किने कविता वाचन गरेका थिए । देउडा खेलमा रमाएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दै सुदूरपश्चिमको कला र संस्कृति अन्य क्षेत्र भन्दा विशिष्ट र फरक पहिचानको रहेको बताए ।

उनले भने, “आफ्नो क्षेत्रको लोकसंस्कृति र कलाको विकास गर्दै पर्यटकसमक्ष यस्ता कला र संस्कृति पस्किन सक्ने वातावरण मिलाउन सकिएमा प्रदेशमा समृद्धि आउँछ ।” मुख्यमन्त्री भट्टले प्रदेशको पर्यटन क्षेत्रको विकासको लागि सरकारले हिमालदेखि तराईसम्मका पर्यटकीय क्षेत्रलाई जोड्दै अघि ल्याएको पाँच वटा पर्यटकीय कोरिडोरको अवधारण कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापा, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओड लगायतले भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

यसैबीच कैलालीको सीमा नाका त्रिनगरबाट बुधबार नेपाल भित्रिएका भारतीय पर्यटकलाई सीमा नाकामै आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओड र उप प्रमुख सुशीला मिश्र भट्टले संयुक्त रूपमा नेपाली टोपी, खादा र टीका लगाएर स्वागत गरेका थिए ।
रासस

Logo