काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न प्रदेशसभालाई निर्देशन दिने निर्णयको विरोध हुन थालेको छ ।
नेवार समुदायका अभियन्ताहरूले प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ राख्न माग गर्दै नेकपा सचिवालयको निर्णयको विरोध जनाएका हुन् । अभियन्ता मल्ल के सुन्दरले नेकपा सचिवालयले गरेको निर्णयका सम्बन्धमा सबै नेवारहरुको ध्यानकर्षण भएको बताए । उक्त निर्णय गैर संवैधानिक र संघीयता विरोधी भन्दै उनले प्रदेशको नाम बाग्मती कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए ।
समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेवा ताम्सालिङ राज्य बनाउनुपर्छ भनेर पहिले देखि नै आन्दोलन जारी रहेको स्मरण गर्दै नेकपाले गरेको निर्णयको विरुद्ध नेवार समुदाय एकजुट हुने बताए । ‘आन्दोलनको तयारी भइरहेको छ । यसले जस्तोसुकै तानाशाहीलाई पनि सडकमा ल्याएर पछार्ने स्थिती आउँछ’, उनले भने । राष्ट्रिय एकताका लागि सबै जाति, भाषा, धर्म र संस्कृतिलाई मुलधारमा ल्याउन संघीयता आएको भन्दै उनले प्रदेश नम्बर ३ लाई नेवा ताम्सालिङ नामकरण गर्नुपर्ने बताए ।
उनले संविधान संशोधनका विषयमा आफ्नो पार्टीसँग भएको सम्झौताबाट प्रधानमन्त्री पछि हटेको प्रति कडा टिप्पणी समेत गरेका छन् । नेकपाको सचिवालय बैठकले प्रदेश नम्बर ३ को राजधानी हेटौडा र नाम बाग्मती राख्ने निर्णय गर्दै प्रदेशसभालाई निर्देशन दिएको थियो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानीका विषयमा शीर्ष नेतृत्वबाट निर्देशन आउनुपर्ने बताउँदै आएका थिए ।





























प्रतिक्रिया