प्रदेश नं. १ : भ्रमण वर्षमा नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई सम्मान गरिने

प्रदेश नं. १ : भ्रमण वर्षमा नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई सम्मान गरिने


भद्रपुर ।

सन् २०२० को जनवरी १ तारिखका दिन पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरिने भएको छ । मेचीनगर नगरपालिकाले नाकामा विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गर्ने भएको हो ।

नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली ढाकाटोपी, अबिर र मालाले सम्मान गरिनेछ । प्रवेशद्वारमै कार्यक्रमको आयोजना गरी सो दिन विभिन्न जातजातिको झाँकीसहितको विशाल ¥याली निकालिने र उनीहरुको जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने नगर पर्यटन विकास समितिका संयोजक तथा नगरउपप्रमुख मीना उप्रेतीले बताइन् ।

उनले यस नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिन होर्डिङबोर्ड राख्ने र घरबासको व्यवस्थाका बारेमा जानकारी दिने बताइन् । उनले सुरक्षाकर्मीसँगको समन्वयमा सुरक्षा संयन्त्रलाई मजबुत बनाएको पनि जानकारी दिइन् ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीले सोही दिन भद्रपुर विमानस्थल भएर आउने पहिलो हवाईयात्रुलाई सम्मान गर्ने जनाएको छ । झापाका पर्यटकीयस्थलको बारेमा जानकारी दिने र एकपटक घुम्नका लागि निम्तोसमेत दिने नेकपा जिल्ला सदस्य शिव ढुङ्गेलले बताए ।

भद्रपुर नगरपालिकाले विमानस्थलमै नगरका पर्यटकीय स्थानको बारेमा जानकारी दिन दृश्य बोर्ड राख्ने जनाएको छ । नगरमै रहेको महाभारतकालीन महत्व बोकेको किच्चक बध, महेन्द्र उद्यान, विभिन्न जातजातिका धार्मिक मठमन्दिर रहेको कमलधापलगायका बारेमा बोर्डमा जानकारी दिइने नगरका प्रशासकीय अधिकृत तुलसी श्रेष्ठले बताए ।
रासस

Logo