राष्ट्रपतिद्वारा क्रिसमस डेका अवसरमा शुभकामना

राष्ट्रपतिद्वारा क्रिसमस डेका अवसरमा शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मालम्बीहरुको महानपर्व ‘क्रिसमस डे’का अवसरमा आज एक शुभकामना सन्देश दिंदै स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपाली सबैको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।

नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक भएको भन्दै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख छ । ‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको पनि सन्देशमा उल्लेख छ । यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने पनि उनले कामना गरेकि छिन् ।

उपराष्ट्रपतिको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गरेका छन् । संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवं सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको भन्दै उनले कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न वा गराउन नपाइने सन्देशमा उल्लेख छ ।

विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताइएको छ । विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम हुँदै आएको र यस पर्वले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउने सन्देशमा उल्लेख छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने गरी प्रगति पथमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरिएको छ ।

राष्ट्रियसभा अध्यक्षको पनि शुभकामना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको राष्ट्रिय एकता, स्वधिनता तथा अखण्डतालाई मजबुद बनाउँदै विभिन्न जातजाति, धर्म, समुदायबीचको सुसम्बन्धलाई प्रगाढ तुल्याउन सबैलाई अनुरोध गरेका छन् ।

इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डेका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न अनुरोध गरेका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर मुलुक भएको भन्दै अध्यक्ष तिमिल्सिनाले सन्देशमा भनिएको छ– हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्रै सीमित नभई राष्ट्रिय एकता, पारस्परिक सद्भाव, मौलिक संस्कृतिको निर्माणका लागि पनि महत्वपूर्ण रहँदै आएको छ ।

Skip This
Skip This
Logo