नेकपा स्थायी कमिटी बैठक सम्पन्न, केन्द्रीय समिति बैठक पुस २३ गते

नेकपा स्थायी कमिटी बैठक सम्पन्न, केन्द्रीय समिति बैठक पुस २३ गते


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अध्यक्षको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्दै आज आइतबार सकिएको छ । मंसिर २९ गतेदेखि जारी स्थायी कमिटी बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनलाई परिमार्जन सहित पारित गर्ने निर्णय गरेको हो ।

बैठकमा नेताहरुले राखेका धारणा र संसोधनहरूलाई सम्बोधन गर्दै अध्यक्षले आगामी केन्द्रीय कमिटी बैठकमा परिमार्जन सहितको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । स्थायी कमिटीबाट पारित राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा जानेछ ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक पुस २३ गते विहान ११ बजे बोलाउने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । बैठकको ठाउँ भने तोकिएको छैन । पार्टी एकीकरणपछि एजेण्डाहरूमाथि नै छलफल हुने गरी केन्द्रीय कमिटी बैठक बस्न लागेको यो पहिलो पटक हो ।

यसअघि निर्वाचन आयोगमा दल दर्ता गर्ने बेला हस्ताक्षर संकलनका लागि केन्द्रीय कमिटी बैठक बसेको थियो ।

आज सम्पन्न स्थायी कमिटी बैठकले पार्टी नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने लगायतका सचिवालय बैठकका निर्णयहरू पनि अनुमोदन गरेको छ । अब केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि वामदेव गौतम नेकपाका उपाध्यक्ष बन्नेछन् । महासचिव विष्णु पौडलले पेश गरेको विधान संशोधनमा उपाध्यक्ष पद थप गर्ने तथा पार्टीको सैद्धान्तिक कार्यक्रम परिमार्जन गर्दै आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद, तात्कालिक कार्यक्रम जनताको जनवाद हुँदै साम्यवादसम्म पुग्ने प्रस्ताव गरिएको छ ।

Logo