पढ्नुअघि पुस्तकको भूमिका हेर्नुपर्छ

पढ्नुअघि पुस्तकको भूमिका हेर्नुपर्छ


त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका विभागीय प्रमुख प्राध्यापक डा. नारायणप्रसाद गौतम संस्कृत भाषाका मूर्धन्य विद्वान् हुन् । गौतमसँग केन्द्रविन्दुका दीपक दर्शनले पुस्तक पठनका विषयमा गरेको संक्षिप्त कुराकानी :

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

संस्कृत भाषाका आदिकवि वाल्मीकिको रामायण पढेँ ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

वाल्मीकीय रामायण ज्ञानको भण्डार हो । जीवनको विषयमा वास्तविक ज्ञान लिन चाहनेले यो पुस्तक पढ्नै पर्छ । पूर्वीय जीवनको आत्मास्वरूप यो पुस्तक एकपटक पढ्नैपर्ने पुस्तक हो ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

मानवीयता । शासक वर्गले कसरी जनपक्षीय कार्य गर्नुपर्दछ भन्ने कुराको हृदयस्पर्शी उदाहरण यसमा दिइएको छ । यसमा भ्रष्टाचारी एवं अहंकारी शासक तथा मर्यादापालक, जनप्रेमी शासकबीचको अन्तर भेटिन्छ । खासमा असल मानिस भएर कसरी बाँच्ने भन्ने कुराको ज्ञान यसै पुस्तकबाट प्राप्त गर्न सकिन्छ ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

यो पुस्तकका हरेक श्लोक उत्तिकै मर्मस्पर्शी छन् । कुनै पनि श्लोक त के कुरा अक्षरसमेत असान्दर्भिक छैनन् । यसका ७ काण्ड, २३,००० श्लोक तथा ४,८०,००० शब्दमा कुनै पनि यो ठीक छैन भन्ने खालको छैन । विशेष गरी सीताको आदर्शको एक अंश मात्रै पनि जीवनमा लागू गर्न सक्ने हो भने जीवन धन्यभागी हुने थियो भन्ने लाग्यो ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?

यो विषयमा अरू कुरा बोल्नु नै व्यर्थ छ । एउटै मात्र कुरो भन्न सकिन्छ– हामीले वाल्मीकिको रामायण एक पटक अवश्य पढ्नुपर्छ ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

शून्य भन्नुस्, १ भन्नुस् वा २० मा २० नै भन्नुस् । यसको के रेटिङ गर्नू !

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न केकस्तो तरिका सुझाउनुहुन्छ ?

पढ्नुअघि पुस्तकको भूमिका हेर्नुपर्छ । त्यसबाट पुस्तकको आशय, परिचय, भूमिका लेखकले गरेको मूल्यांकन बुझ्न सकिन्छ । यस आधारमा पुस्तक पढ्ने वा नपढ्ने भन्ने कुराको निर्णय स्वविवेकले गर्नुपर्छ ।

Logo