‘प्रस्ताव दर्ताका सम्बन्धमा भ्रम उत्पन्न गर्नुको अर्थ छैन’ : सभामुख

‘प्रस्ताव दर्ताका सम्बन्धमा भ्रम उत्पन्न गर्नुको अर्थ छैन’ : सभामुख


काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका सन्दर्भमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नभएको बताएका छन् ।

पुस ५ गते ९० जना सांसदले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका सन्दर्भमा आफूलाई समेत जोडेर टिप्पणी गरिएको भन्दै उनले थप स्पष्ट पारेका हुन् ।

‘सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिनुभएको हो’, सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘तत्पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन।’

तथ्यहरुलाई एकातिर पन्छाएर सभामुखलाई समेत विवादमा तान्ने प्रयासस्वरूप सिर्जना गरिएको भ्रममा नपर्न प्रेस नोटमा आग्रह गरिएको छ ।

अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद् सचिवालयका प्रवक्ताद्वारा यही पुस ८ गते प्रेस विज्ञप्तिमार्फत स्पष्ट गरिसकिएको समेत प्रेस नोटमा स्मरण गरिएको छ ।

Logo