काठमाडौं ।
संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि चिनिने गरिन्छ । संसदका दुवै सदन हिउँदे अधिवेशनको तयारीमा जुटेका छन् । सभामुख चयन गर्न नेकपाभित्र भईरहेको छलफलले राष्ट्रिय सभाको नेतृत्वलाई पनि असर पर्ने संकेत देखिएको छ । नेकपाभित्रको पूर्व माओवादी पक्षले सभामुख नपाए राष्ट्रिय सभाको अध्यक्षमा इच्छा देखाएको कुरा सुनिएको छ । यीनै मुलभूत विषयलाई ५ प्रश्नमा केन्द्रीत गरी केन्द्रविन्दु अनलाईनका राजनीतिक ब्युरो प्रमूख प्रकाश लुईटेलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग कुराकानी गरेका छन् । प्रस्तुत छ केन्द्रविन्दुका ५ प्रश्नमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको जवाफः
प्रश्न १
हिउँदे अधिवेशनका लागि राष्ट्रिय सभाको तयारी कस्तो छ ?
– सम्पूर्ण तयारीहरु पूरा भएको छ । यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा बुझिन्छ । यसकारण पनि हिउँदे अधिवेशनको विजनेस भनेको पनि विधेयकहरु नै हो । भोली ४ बजे बैठक बस्छ । भोलीको बैठकको शुरुमा सम्माननिय राष्ट्रपति ज्यूबाट प्राप्त पत्र पढेर सुनाउने काम हुन्छ । त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले शुभकामना आदान प्रदान र आफ्ना भनाई राख्ने कार्यक्रम हुन्छ । अरु एजेण्डाहरुमा हामी खासै प्रवेश गर्दैनौं । त्यसपछिका बैठकहरुमा हामी अघिल्लो बैठकहरुमा बाँकी रहेका जतीपनि विधेयकहरु छन् त्यसमाथिको काम कारबाहीलाई निरन्तरता दिनेछौं । यसका साथै सरकारले यो अधिवेशनमा ल्याउनका लागि तयार गरेका विधेयकहरुलाई क्रमशः हामी संसदमा प्रस्तुत गर्छौं, छलफल गराउँछौं र पास गर्ने प्रक्रियामा लाग्छौं ।
प्रश्न २
प्रतिनिधि सभा अहिले सभामुखविहीन छ । त्यसबाट राष्ट्रिय सभाको काममा कुनै प्रभाव पर्छ ?
– त्यस्तो केही फरक पर्दैन । किनकि अलग अलग सदनहरु आफ्नो–आफ्नो चल्ने हुन्छ । प्रतिनिधि सभामा पनि उपसभामुखले संचालन गर्ने भएपछि तत्कालका लागि केही असर भएन । तर पनि प्रमुख पोष्ट धेरै समय रिक्त नरहनु नै राम्रो हुन्छ । किनभने त्यसका अरुपनि असरहरु त हुन्छन् । त्यसैले अब छिटै त्यसको पदपुर्ति होला, हुनु पनि पर्छ । तर राष्ट्रिय सभालाई प्रत्यक्ष असर पर्ने केही त्यस्तो हुँदैन ।
प्रश्न ३
असरको कुरा गर्दा, सभामुख चयनबारे सत्तारुढ नेकपाभित्रै पूर्व एमाले र पूर्व माओवादीको आ आफ्नै दावी छ । पछिल्लो पटक, पूर्व माओवादी पक्षले सभामुख नपाए राष्ट्रिय सभाको अध्यक्षमा ईच्छा देखाएको कुरा सुनिएको छ । यसरी हेर्दा सभामुख चयनको कुराले राष्ट्रिय सभाको अध्यक्षमा पनि असर पर्ने भयो । यसमा तपाईको प्रतिक्रिया के छ ?
– यो विषयमा तपाईंले प्रश्न गरेपछि मैले दुईटा कुरा भन्नुपर्ने हुन्छ । पहिलो कुरा, लोकतन्त्रमा आ–आफ्नो प्रक्रिया हुन्छ, प्रतिश्पर्धा हुन्छ, मतदान हुन्छ त्यो राम्रो कुरा हो । तर यस्तो खालको टिमबन्दी–गुटबन्दी हाम्रो राजनीतिमा धेरै बढ्यो । सामान्यतया विचार मिल्नेहरुको टिमबन्दी भएपनि सँधैभरी गुटको ह्याङ पालेर बस्नु हुँदैन । नेपाली कांग्रेसभित्र पनि मिटिङहरु अनिर्णयको बन्दी भएरै चलिरहेको छ । उहाँहरुले विवाद सल्टाउने कुरामा एकमत भएर सल्टाए हुन्थ्यो । अरु कुरामा प्रतिस्पर्धा त गर्ने नै हो । तर यस्ता कुरामा ढिला हुँदा समग्र पार्टीलाई नोक्सान भएको छ । अरु पार्टीमा पनि होला । नेकपामा पनि पार्टी एकता भएको २ बर्ष लाग्दैछ, अहिले पनि पूर्व–पूर्व भएर बस्ने हो भने नेकपा कहिले हुने त ? जे कुरामा पनि पूर्व भन्ने हो भने त्यो त मोर्चा हुन्छ, त्यसोभए वर्तमान के त ? अब त नेकपा हुनु पर्यो नि ! खाली एउटा सुर्य चिन्ह मात्रै वर्तमान ? त्यसो गर्नु हुँदैन । त्यसले एकताको ‘स्पिरिट’लाई पक्रदैन ।
दोस्रो कुरा, त्यही पूर्वको कुरा गरेर सभामुखको चयन र राष्ट्रिय सभाको अध्यक्षमा नेकपाभित्र भएको कुरा मैले केही अनलाईन मिडियामा देखें । तर मसँग नेतृत्वले त्यसबारे अहिलेसम्म कुरा गरेको छैन । त्यसैले यस विषयमा म केही जान्दिन । तर म यही हुनुपर्छ, यस्तै हुनुपर्छ भनेर कुनै कुराको पनि ढिपी कस्दिन । राष्ट्र हितको लागि मैले जे गर्नुपर्छ, संघीय लोकतान्त्रिक गणतन्त्रको हितका लागि म यो पोष्टमा रहनुपर्छ भने रहन सक्छु, म बाहिर बसेर वा यो पोष्टमा अरु नै कोही आएर राम्रो हुन्छ भने पनि म तयार छु ।
प्रश्न ४
भनेपछि नेकपाभित्रको भागबण्डा मिलाउन पार्टीले भन्यो भने तपाईं राष्ट्रिय सभाको अध्यक्ष पद छोड्न तयार हुनुहुन्छ ?
– मेरो आवश्यकता जहाँ महशुस हुन्छ त्यो पुरा गर्न म तयार छु । मैले त्यो पद छोडेर राष्ट्र र ब्यवस्थाको हित हुन्छ भने त्यसका लागि मलाई केहि गाह्रो छैन ।
प्रश्न ५
तर तपाईंले भनेजस्तै गुटबन्दी र भागबण्डाको संस्कारले हामीलाई राम्रो ठाउँमा पुर्याउँदैन भने तपाईको कदम पनि त्यस्तो संस्कारलाई बदल्न अघि बढ्नु पर्ने होइन र ?
– अरुको कुरामा यस्तो हुनुपर्छ भन्न जति सजिलो हुन्छ, आफ्नो बारेमा भन्दा कुर्सीको लोभ गर्यो भन्ने आरोप लाग्ने गर्छ । आज कुर्सी नछाडौंला, तर अबको साढे ४ बर्षपछि मैले कुर्सी छोड्नु पदैन र ! मेरो राजनीतिमा लाग्नुको अभिष्ट भनेको यो अध्यक्ष भईराख्न पनि होईन । त्यो अभिष्ट समाज परिवर्तनको लागि हो । त्यस दिशामा हिंड्दा भुईमा बस्नु परेपनि कुर्सीमा बस्नुपरे पनि मलाई कुनै चित्त दुखाई हुने छैन ।
हेरौं भिडियोमा































प्रतिक्रिया