१५ महिनामा ३ हजार ४ सय बालबालिका हराए

१५ महिनामा ३ हजार ४ सय बालबालिका हराए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विगत १५ महिनाको अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ को साउनदेखि चालू आर्थिक वर्ष २०७६/७७ को असोज महिनासम्मको १५ महिने अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले देखाएको हो । जसमध्ये १ हजार ४ सय ४० जना मात्रै फेला परेका छन् ।

हराउने बालबालिकामा छोराभन्दा छोरीको संख्या धेरै रहने गरेको तथ्यांक देखाउँछ । प्राप्त तथ्यांक अनुसार १५ महिनाको अवधिमा १ हजार ६७ जना बालक हराएकामा सोही अवधिमा २ हजार ३ सय ५१ जना बालिका अर्थात् छोरी हराएका हुन् ।

हराएका बालबालिकामध्ये १५ महिने अवधिमा ४ सय ३४ जना बालक (छोरा) फेला परेका छन् भने १ हजार ६ जना बालिका (छोरी) फेला परेका छन् । हराएका मध्ये कुल १ हजार ४ सय ४० जना मात्रै भेटिएका हुन् भने १ हजार ९ सय ७८ जना भने भेटिएका छैनन् ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालबालिका हराउँदा अभिभावकहरूले प्रहरीमा सूचना दिने तर भेटिँदा जानकारी नगराउने गरेका कारण हराउने भन्दा भेटिनेको संख्या कम देखिएको बताए ।

‘बालबालिका हराउँदा अभिभावकहरूले प्रहरीमा सूचना दिने तर भेटिँदा जानकारी नगराउने गरेका कारण हराउनेभन्दा भेटिनेको संख्या कम देखिने गरेको हो, असुरक्षाका कारण बालबालिका हराएको अवस्था छैन,’ प्रवक्ता पोखरेलले भने ।

उनले घरपररिवारबाट सामान्य विवादमा अलग भएर सहर छिर्ने, विभिन्न किसिमका घरायसी कामसहित होटल व्यवसायका काममा लाग्ने तथा घर ठेगाना थाहा नभएका बालबालिका सुधार गृहमा राखिने गरेका कारण समेत कतिपय बालबालिका परिवारसँग सम्पर्कमा नरहने गरेको पाइएको बताए ।

सामान्यतया फरक स्वास्थ्य अवस्था भएका बालबालिका धेरैजसो हराउने गरेका छन् । यस्तै, कतिपय अवस्थामा अभिभावकको लापर्बाहीका कारण समेत बालबालिका हराउने गरेका छन् । अर्कोतर्फ बालबालिका हराएर भेटिएपछि प्रहरीलाई जानकारी दिनुपर्छ भन्नेमा धेरै अभिभावक सचेत नरहनुले समेत तथ्यांकमा असर गर्ने गरेको छ ।

राजधानीबाट

Logo