झापा । झापाको बाह्रदशी गाउँपालिका–१ स्थित भागुडुब्बामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ । एक करोड ६१ लाख ७९ हजार रूपैयाँको लागतमा भवन निर्माण भएसँगै पोस्ट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वार्टर झापाका प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिए ।
उक्त पोस्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टुकडी रहनेछ । भारतीय सीमा क्षेत्रमा हुने सीमा अतिक्रमण, अवैध निकासी–पैठारी, लागुऔषध ओसारपसार, आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतको दिगल बैंकसँगको सीमामा बीओपी स्थापना गरिएको हो । बिओपी स्थापना गरिएको स्थानबाट करीब पाँच किलोमिटरको दुरीमा भारतसँगको सीमा रहेको छ ।
स्थानीय सुशीलादेवी राजवंशीले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा बिओपी भवन निर्माण गरिएको हो । डेढ दशकअघि भारतीय डाकाबाट डकैतीको शिकार भएकाले त्यस्तो पीडा कसैलाई नहोस् भनेर पोस्ट स्थापनाका लागि जग्गा उपलब्ध गराएको राजवंशीले बताइन् ।
बाह्रदशी गाउँपालिका–१ मा पर्ने भागुडुब्बा क्षेत्रका बासिन्दा वर्षौंदेखि डकैती र चौपाया चोरीका घटनाबाट पीडित हुँदै आएका छन् । पोस्ट स्थापना भएपछि उक्त पीडाबाट राहत पाउने स्थानीयवासीको आशा छ । प्रदेश नम्बर १ को झापा, मोरङ र सुनसरीका सीमावर्ती ३७ स्थानमा बिओपीका भवन निर्माणको प्रक्रियामा छ भने झापामा ८ बिओपी भवन निर्माण हुने जनाइएको छ । रासस
प्रतिक्रिया