काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले मन्त्रिपरिषदबाट निर्णय गराएर टुँडिखेलको अस्तित्व जोगाउनु पर्ने बताउनु भएको छ । अकुपाइ टुँडिखेल अभियानको एक प्रतितिनिधिमण्डललाई पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा भेट्दै उहाँले सो विषयमा सरकार र महानगरले ठोस र प्रभावकारी निर्णय अविलम्ब गर्नुपर्ने सुझाव दिनुभयो । “टुँडिखेललाई हरियो चौरका रुपमा मात्र नभई सांस्कृतिक सम्पदाका रुपमा विकास गर्नुपर्छ, रङ्गशालादेखि रानीपोखरीसम्म एउटै क्षेत्र कायम गरी संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
काठमाडौँ शहरको स्वच्छता कायम राख्न, आपत्कालीन समयमा प्रयोग गर्न तथा देशकै गौरव बढाउने राष्ट्रिय कार्यक्रम गर्न टुँडिखेल उपयोगी हुने बताउँदै उहाँले टुँडिखेल संरक्षणका निमित्त सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
विजय श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा, महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देन, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल लगायतको सहभागिता रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
रासस































प्रतिक्रिया