चीनको केरुङ जान लागेका ४४ किशोरी फर्काइयो

चीनको केरुङ जान लागेका ४४ किशोरी फर्काइयो

केन्द्रबिन्दु
0
Shares

रसुवा , २०७६ मंसिर २६ ।

रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको छ। सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको बताइएको छ । गतवर्ष एक सय १० जना किशोरीहरूलाई फिर्ता गरिएको थियो।

गत वर्षदेखि २० वर्ष नपुगेकालाई केरुङ जान अनुमति दिन बन्द गरिएको थियो । जनचेतनाको कार्यक्रम सञ्चालन पश्चात् यो वर्ष कम किशोरीलाई मात्र फिर्ता गरिएको माइती नेपाल रसुवाकी संयोजक लालुमाया घलेले जानकारी दिइन् ।

संस्थाले ११ महिनामा एक हजार ९ सय ९३ लाई परामर्श दिएको छ। रसुवागढी नाका औपचारिक रूपमा सञ्चालनमा आएसँगै रोजगारीका लागि केरुङ जाने क्रम बढ्दै गएको छ। माइती नेपालले बुधबार धुन्चेमा आयोजा गरेको पत्रकार सम्मेलनको क्रममा उक्त जानकारी गराइएको हो।

रसुवाका नागरिकले एक वर्षको लागि चीन प्रवेश अनुमति पत्र पाउने र त्यहाँ रोजगारीको क्षेत्र पनि बढ्दै गएका कारण कामको सिलसिलामा त्यहाँ जाने क्रम बढेको हो। केरुङमा रसुवा तथा छिमेकी जिल्लाहरु नुवाकोट, धादिङ, सिन्धुपाल्चोकका किशोरी कार्यरत छन् ।

जिल्लाको यार्सा, राम्चे, सरमथली, हाकु, थुमन डाँडागाउँ लगायतका क्षेत्रका किशोरी केरूङको होटलमा कार्यरत छन्। जिल्लावासीलाई चीन प्रवेशका लागि सहज वातावरण भएकाले पनि जाने क्रम बढ्दोे छ। मानव बेचविखनको न्यूनीकरणको लागि माइती नेपालले रसुवागढी नाकामा हेल्प डेक्स स्थापना गरेर परामर्श दिँदै आएको छ । ‘नाका सञ्चालनमा आएपछि केरुङमा काम गर्न जानेको संख्या बढ्दै गएको छ,’ संयोजक घलेले भनिन्, ‘यसका लागि हामीले परामर्श दिँदै आएका छौं।’
नागरिकबाट

Logo