काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ठूलो जित रहेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्तरले पराजित गर्दै जित हात पारेको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको भूटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । भूटानका लागि मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए ।
त्यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । भूटानलाई सस्तैमा समेट्नेक्रममा नेपालका पारस खड्काले २ विकेट लिए भने करन केसी, ललित राजवंशी र पवन सर्राफले समान १/१ विकेट झारे ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक १०७ रनको योगदान दिए । ५५ बल खेल्दै उनले ५ चौका र ९ छक्कासहित १०७ रनको योगदान दिएका हुन् ।
त्यस्तै पारस खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन बनाए । पारसले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन जोडे भने दीपेन्द्रले २७ बलमा ४ चौका र २ छक्कासहित ४५ रनमा अविजित रहे ।
त्यस्तै रोहितकुमार पौडेलले ६ तथा आरिफ शेख ४ रनमा अविजित रहे । भूटानका कर्मा दोर्जीले दुई तथा तोब्डेन सिङ्गेले एक विकेट झारे । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ ।





























प्रतिक्रिया