गृह मन्त्रालयद्वारा पाँच प्रमुख जिल्ला अधिकारीको सरुवा

गृह मन्त्रालयद्वारा पाँच प्रमुख जिल्ला अधिकारीको सरुवा


काठमाडौं,

गृह मन्त्रालयले पाँच प्रमुख जिल्ला अधिकारीसहित छ जनाको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जीतेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ ।

यस्तै भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टको मकवानपुरमा, लमजुङ प्रजिअ डिजन भट्टराईलाई अध्यागमन विभागमा, गृहका सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको प्रजिअमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका लक्ष्मण खड्कालाई लम्जुङमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्याय परिषद्को मंगलबारको बैठकले रिक्त सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले न्यायसेवामा कार्यरत कर्मचारीबाट सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

न्याय सेवाका कार्यरत उपसचिवमध्ये २० प्रतिशत कर्मचारीबाट जिल्ला न्यायाधीशमा नियुक्त गर्न सकिने व्यवस्था अनुसार परिषद्ले उपसचिवहरु गेहेन्द्रराज पन्त, विद्याराज पौडेल, महेन्द्रराज काफ्ले, टेकराज जोशी, इन्दिरा शर्मा, मनकुमारी जिएम विक र रीताकुमारी बख्रेललाई जिल्ला न्यायाधीशमा सिफारिस गर्दै नियुक्तिका लागि सिफारिस गरेको हो ।

नियुक्त तथा पदस्थापन

प्रधानन्यायाधीश जबराले नियुक्तिका लागि सिफारिस भएका न्यायाधीशको नियुक्ति गरी पदस्थापना भएको छ ।

न्यायाधीश पन्तलाई भोजपुर जिल्ला अदालत, न्यायाधीश पौडेललाई रुकुम जिल्ला अदालत, न्यायाधीश काफ्लेलाई सोलुखुम्बु जिल्ला अदालत, न्यायाधीश जोशीलाई डोल्पा जिल्ला अदालत, न्यायाधीश शर्मालाई झापा जिल्ला अदालत, न्यायाधीश विकलाई बाँके जिल्ला अदालत र न्यायाधीश बख्रेललाई सप्तरी जिल्ला अदालतमा पदस्थापन गरिएको हो ।

Logo