साग भलिबलमा आज नेपाल–बंगलादेश भिड्दै

साग भलिबलमा आज नेपाल–बंगलादेश भिड्दै


काठमाडौं,

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन अब चार दिन मात्रै बाँकी छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा १५ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गर्नेछन् ।

काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुने सागमा विभिन्न २६ खेलमा सार्क राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपालले सबै २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । सागको औपचारिक उद्घाटन हुनु अघि भलिबलका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ । भलिबलमा पुरुषतर्फ ६ र महिलातर्फ ५ राष्ट्रको सहभागिता रहेको छ ।

महिलामा पाकिस्तानले अन्तिम समयमा आएर सहभागिता जनाएन । पुरुष र महिला दुवैतर्फको खेलहरू लिग कम नकआउटका आधारमा हुनेछ । महिलामा पाकिस्तानका प्रतिद्वन्द्वीले वाकओभर पाउदै अघि बढ्नेछन् ।

नेपाली महिला टिमले उद्घाटन खेलमा बुधबार तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । खेल दिउँसो ३ बजेपछि राखेप कभर्ड हलमा हुनेछ । बुधबार नै माल्दिभ्स र पाकिस्तानबीच साँझ ५ बजे खेल हुनेछ ।

सेन्ट्रल जोन च्याम्पियन बनेको नेपाली टोलीले सागमा स्वर्णपदक जित्ने लक्ष्य बनाएको छ । त्यसपछि नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान रहेका छन् । बुधबार नै पुरुषतर्फ नेपालले बंगालदेशसँग नै खेल्दै सागको सुरुवात गर्नेछ । खेल ७ बजेपछि हुनेछ ।

Logo