‘बालुवाटारमा बस्नेले जनादेशमाथि घात गरे, तीन वर्ष गफ गरेरै बित्यो’ : झलनाथ खनाल

‘बालुवाटारमा बस्नेले जनादेशमाथि घात गरे, तीन वर्ष गफ गरेरै बित्यो’ : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारमा बस्नेले जनादेशमाथि घात गरेको आरोप लगाए। खनालले जनताले दिएको मत नेकपालाई आएको र जित पनि नेकपाको भएको बताए। त्यो विजय ओलीको नभएको उनको भनाइ थियो।

उनले प्रधानमन्त्री ओलीले तीन वर्ष गफै गरेर बिताएको आरोप पनि लगाए। ‘उहाँँले गफै फ्याँकेर ३ वर्ष बिताउनु भयो। पानीजहाजको कुरा गर्नुभयो, खोइ कहाँ आयो पानीजहाज ? घरघरमा ग्यास चुलोको कुरा गर्नुभयो ? उहाँले आफ्नै घरमा लग्नुभयो होला, जनताको घरमा ग्याँस चुलो खोइ ?’, खनालले भने, ‘उखानले मुलुक चल्दैन। तीन वर्षमा मरीचमान, नगेन्द्रप्रसाद रिजालले जति पनि काम गर्नुभएन।’

ओली आफैंले समेत रहेर बनाएको संविधानलाई विश्वासघात गर्ने र प्वाल पार्ने काम गरेको खनालको आरोप थियो। नेकपा मात्रै होइन, नेकपाको सूर्य चिह्न पनि आफूहरूकै भएको जिकिर उनले गरे। देशव्यापी रूपमा प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनको आँधीबेहरी उठाउनु पर्ने उनको भनाइ थियो। ‘बालुवाटार पुगेकै दिनदेखि उहाँले पार्टीलाई बिर्सनुभयो। पार्टीलाई आफू कुर्सीमा पुग्ने भर्‍याङ मात्र बनाउनुभयो। सबै कुरा बिर्सनुभयो। एकलौटी ढंगले चल्न थाल्नुभयो’, उनले भने।

नेत्री अष्टलक्ष्मी शाक्यले केपी ओली ‘कमरेड’ बन्न नसकेको आरोप लगाइन्। ‘केपी कमरेड बन्न सक्नुभएन। निरंकुश शासक बन्नुभयो। सर्वसत्तावादी बन्नुभयो, सर्वसत्तावादी ओलीविरुद्ध अहिले अगाडि बढ्नुपर्ने बेला आएको छ’, शाक्यले भनिन्, ‘जनताको आन्दोलनका अगाडि राजसंस्था त टिक्न सकेन। केपी ओली के टिक्न सक्नुहोला र ?’

यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगमनविरोधी आन्दोलन विजयमा नपुग्दासम्म नरोकिने बताएका थिए।अन्नपूर्णबाट

Logo