सीमा विवादलाई डाइभर्ट गर्न सरकारले मन्त्रीमण्डल हेरफेर गरेको हो : विजुक्छे

सीमा विवादलाई डाइभर्ट गर्न सरकारले मन्त्रीमण्डल हेरफेर गरेको हो : विजुक्छे

केन्द्रबिन्दु
0
Shares

भारतले नेपालको करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि यो विषयमा बहससँगै फरक फरक अभिमतहरू आइरहेका छन् । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेपछि यसको व्यापक विरोध भइरहेको हो ।

जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गर्‍यो । विगतमा सीमा मिचेर नेपाललाई हैरान बनाउने भारतले यो पटक नक्सामै नेपालको भूमि समेटेपछि देशभक्त नेपालीमा आक्रोश बढेको छ ।

प्रस्तुत छ : भारत किन नेपालको भूभाग कब्जा गर्न चाहन्छ र यो समस्या सुल्झाउन अब के गर्नुपर्ला भन्ने सन्दर्भमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितसँग केन्द्रविन्दुका जितेन्द्र श्रेष्ठले गरेको कुराकानी ।

भारतले सार्वजनिक गरेको नक्सामा नेपालका भूभाग पनि आफ्नो नक्साभित्र पारेको छ । यसलाई कुन रूपमा हेरिरहनु भएको छ ?

नेपाल भारत सीमा विवाद नयाँ होइन । यो धेरै वर्ष अघिदेखि उठिरहेको विषय हो । भारतले बेलाबेलामा नेपाली भूभागमा गिद्दे नजर लगाउँदै आएको छ । कूटनीतिक ढंगमा यसको पहल हुनुपर्ने जरुरी त छ नै । तर, आवश्यक परे भारतसँग लड्नु परे पनि पछि नहट्ने गरी सरकार र जनताले आफूलाई तयारी अवस्थामा राख्नुपर्दछ ।

सन् १९५० को सन्धिलाई असमान भनिएको छ । त्यही सन्धिको समेत खिल्ली उडाएर भारतले नेपाली भूभागमा आँखा गाडिरहनुको कारणचाहिँ के होला ?

भारतको योजना भनेको नेपाल नै लिनु हो । भारतले वि.सं. २०३३ सालभित्रै नेपाललाई आफ्नो देशमा गाभ्ने योजना बनाएको थियो । यसबारे त पुस्तकनै प्रकाशित भइसकेको छ । तर, आन्तरिक र बाह्य कारणले उनीहरू सफल हुन सकेनन् । इन्दिरा गान्धी रहिरहेको भए  भारतले नेपालको भूभागमाथि प्रभुत्व जमाइसक्थ्यो । तर चीन बीचमा आएपछि भने भारत पछि हटेको थियो ।

१९५० को सन्धि त्यस्तो बेला भएको थियो जतिबेला तत्कालीन राणा शासक आफ्नो सत्ता जोगाउन हदैसम्म लचिलो भएर सम्झौता गर्ने स्थितिमा थिए र उत्तरी छिमेकी चीनले तिब्बतमा आफ्नो पाइला विस्तार गरिसकेको थियो जसका कारण चिन्तित भारत छिटो सम्झौता गर्न आतुर थियो ।

भारतले चीनको पनि सीमा मिच्दै आएको छ, र नेपालको पनि । भारतले नेपालको महत्वपूर्ण भूभाग लिएर चीनलाई घेर्ने रणनीतिमा लागेको हो ?

विश्वका सम्राज्यवादीहरूले विगतमा कम्युनिष्ट मुलुक चीनलाई पूर्वबाट घेर्न थालेका थिए । पछिल्लो समय दक्षिणबाट भारत हुँदै महाशक्ति राष्ट्र बन्दै गरेको कम्युनिष्ट मुलुक चीनलाई घेर्ने योजनामा देखिन्छन् । जसका लागि नेपालको भूभाग उपयोगी देखिन्छ । त्यसैले पनि सम्राज्यवादीहरू चीनसँग युद्ध गर्न सजिलो हुने नेपाली भूभाग कब्जा गर्ने रणनीतिमै छन् । यही कारण भारत नेपालको भूभाग कब्जा गर्न चाहन्छ ।

नेपालको भूभाग कब्जा गर्न भारत त दृढ रूपमा लागेको देखिन्छ नै, यसमा अन्य बाह्यशक्तिको पनि हात छ भन्न मिल्छ ?

नेपाली भूभाग कब्जा गर्न खोज्नुमा भारतको स्वार्थ त छ नै, त्यही स्वार्थमा विश्व साम्राज्यवादीहरूको अर्को स्वार्थसमेत जोडिएको छ । विगतको कुरालाई हेर्ने हो भने पनि भारत र चीनबीच सम्बन्ध बिग्रँदा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले ‘नेपालमाथि हुने कुनै पनि आक्रमणलाई भारतले प्रत्यक्ष रूपमा नभई अप्रत्यक्ष रूपमा भारतउपर भएको आक्रमण ठान्नेछ । तर त्यस्तो स्थितिमा के गर्ने भन्ने निर्णय गर्ने काम नेपालकै हो ।’ भन्ने अभिव्यक्ति दिएर नेपाललाई आफ्नो हातमा लिन खोजेको देखिन्छ ।

भारतले विगतमा चीनसँग पनि जानाजान झगडाको बीउ रोपेको थियो । जब जब कम्युनिष्टहरू बलियो बन्दै जान्छन् त्यो देशमा पूँजीवादी देशहरू लड्न तयार हुन्छन् । लडाइँको घोषणा गरेपछि कम्युनिष्टलाई दबाउन सजिलो हुने भएकाले पनि पूँजीवादी मुलुक लडाइँलाई प्रश्रय दिन्छन् । सोही सिद्धान्तलाई हेर्ने हो भने नेपालमा कम्युनिष्ट आन्दोलन बलियो बन्दै गएको देखेको छ भारत र सम्राज्यवादीहरूले । यो चीनकै प्रभाव मानेका छन् उनीहरूले । तर विडम्वना, अहिले सरकारमा रहेको दल सच्चा कम्युनिष्ट हुँदै होइन । किनकि, सच्चा कम्युनिष्ट सम्राज्यवादीहरूसँग लसपस गर्दैनन् ।

त्यस बखत चीनको प्रतिक्रिया कस्तो रहेको थियो त ?

भारतको भनाइ आएपछि चिनियाँ उपप्रधानमन्त्री मार्सल चेन यीको प्रतिक्रिया आएको थियो, ‘कुनै विदेशी फौजले नेपालमा हमला गरेमा हामी चिनियाँ जनता नेपालको पक्षमा रहनेछौं ।’ चीनको यो अभिव्यक्तिसँगै भारत पछि हट्न बाध्य भएको थियो ।
एउटा कुरा हामीले के थाहापाउनुपर्छ भने १९६२ मा बोर्डर क्र्यास हुनुभन्दा अघि चिनिया सरकारको तर्फबाट चाउएनलाइ र छ्वइनी दिल्लीमा कुरा गर्न गएका थिए । चाउएनलाइले नेपाल आउँदा गौचरणको विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भनेका थिए ‘मित्रले सधैं अगाडि राम्रै कुरा गर्ने हुन्छ । उहाँहरूले हाम्रो अगाडि राम्रै कुरा गर्नुभयो’ भनेका थिए ।

चाउएनलाइसँगै दिल्लीगएका छ्वइनीले चाहिँ सीधा भाषामा भनेका थिए, ‘साम्राज्यवादीहरू हामीमाथि आक्रमण गरिरहेका छन् । हामीले पर्खेकै हो । हाम्रो कपाल पनि फुलिसकेको छ । हामी मात्र हैन, हाम्रा छोरानातिहरू पनि सम्राज्यवाद विरूद्ध लड्नेछन् । यो सबै साम्राज्यवादीहरूको काम हो ।’

यस अर्थमा पनि नेपालको भूभाग कब्जाका लागि सम्राज्यवादीहरू लागिपरेका छन् भन्न सकिन्छ । जुन भूभाग कब्जा गर्दा चीनलाई घेर्न सजिलो हुनेछ ।

गत अक्टुवरमा चीनको राष्ट्रपतिले नेपाल भ्रमण गरेपछि नेपालमा चीनको प्रभाव पर्ने देखिएकाले भारत चिढिएर काश्मिर समेटिएको नक्सा सार्वजनिक गर्नेबेला मेसो मिलाएर नेपाललाई आफू अनुकूल ल्याउन कार्ड फ्याँकेको हो भन्न मिल्छ?

राप्रपा र काँग्रेसकै सरकार थियो र उनीहरूले यस्तै काम गरेका थिए भने पनि भारतले रुचाउँदैनथ्यो । भारतको मनसाय नेपाललाई चीनको विरुद्धमा प्रयोग गर्न खोज्नु नै हो । तर, नेपाल अर्थात् हामी तटस्थ बस्ने भन्ने नै हो । लडाइँबाट त सानो देश नै जान्छ । बाटो त हाम्रो हो । तिनीहरू हाम्रै बाटो भएर लड्ने काम हुन्छ, बस् कालापानी पनि त्यस्तै हो ।

कालापानी युद्धका लागि त्यस्तो प्वाइन्ट हो जहाँबाट तिब्बत हमला गर्न सजिलो छ । साथसाथै चीनका तर्फबाट पनि दिल्ली हमला गर्न सजिलो । त्यसैले स्ट्राटिजिक प्वाइन्ट भारतीयले रोजेका हुन् । त्यहाँबाट उनीहरू हत्तपत्त पछाडि हट्नेवाला छैनन् ।

भनेपछि भारतको व्यवहार शंकास्पद नै छ, नेपालले के गर्ने त ?

१९५० को सन्धि भएको ९ वर्षपछि सार्वजनिक ‘लेटर अफएक्सचेञ्ज’मा टेकेर भारतले अनौपचारिक रूपमा बारम्बार नेपालको विदेश र प्रतिरक्षा नीति दिल्लीको सल्लाहमा चल्नुपर्ने अडान राखेको थियो । पछिल्लो राजनीतिक परिवर्तनहरूपछि पनि नेपाल भारत र चीन दुवै मुलुकलाई समान व्यवहार गरेर अघि बढ्नु पर्नेमा आवाज उठेका छन् । नेपालमा संविधान जारी भएसँगै भूकम्पपछि आक्रान्त नेपाली जनतामाथि भारतले नाकाबन्दी लगायो । त्यसपछि नेपाल र नेपालीको भारतप्रतिको दृष्टिकोण बदलियो । एउटा छिमेकी मुलुकले छिमेकलाई समस्यामा पारेपछि अर्को छिमेकको सहयोग लिनु स्वाभाविक नै थियो । तर भारतले यसलाई चीनसँगको सामीप्यका रूपमा बुझेर पुनः सम्बन्धलाई सुधार गर्न चाह्यो । तर भारतको नीति भनेको नेपालको उपयोगी भूभाग कब्जा गर्नु नै हो । त्यसैले नेपालीले भारतको यो रवैयाको सदैव प्रतिकार गर्न तयार भएर बस्नुपर्दछ ।

नेपाललाई भारतबाट हस्तक्षेप गरेको बेला चीन पनि बोल्नुपर्छ भन्ने तपाईंको धारणा हो ?

चीनको प्रतिस्पर्धा भनेको अमेरिकासँगै हो । नेपालको सानो कुरामा ऊ फस्न चाहँदैन । हाम्रो देश बचाउने काम हाम्रै हो, उसको होइन । यो मामिला हाम्रो हो । हामीले नै समस्याको समाधान खोज्नुपर्छ । कूटनीतिक रूपमा होस् वा सीमामा परिआएको खण्डमा लडेरै प्रतिकार गर्नु परोस् । मुलुकको रक्षा गर्ने तथा समस्या समाधान गर्ने हामी आफैंले हो । अहिले मन्त्रीमण्डल हेरफेर गर्ने सरकारको काम पनि भारतले ल्याएको नक्साबारे उठेका आवाजलाई डाइभर्ट गर्नु नै हो । त्यसैले कुरा प्रस्ट छ– ‘स्मोक स्क्रिनमा सरकार लागिपरेको छ ।’

अनि लिपुलेकमा भारत र चीनबीच सम्झौता भएजस्तै दुवै देश मिलेर अघि बढे भने नि ?

भारत र चीन मिले भने पनि हाम्रो देशको आफ्नै अडान हुनुपर्छ । उनीहरूको बीचमा हुँदैमा उनीहरूले जे भन्यो त्यही गर्नुपर्छ भन्ने छैन ।

Logo