सङ्घीयतामा अबको पत्रकारिता कस्तो हुनुपर्दछ भन्ने विषयमा केन्द्रित रहेर लुम्बिनीमा समाचार महोत्सवको आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ । महोत्सवमा देशभरिका पत्रकारिता क्षेत्रका विज्ञहरू, सम्पादकहरू र पत्रकारहरूबीच फरकफरक विधामा छलफल हुने आयोजक लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिए ।
मुख्यमन्त्री शङ्कर पोखरेलले आज अपराह्न उद्घाटन गर्ने महोत्सव बिहान पहिलो सत्रमा नेपालको पत्रकारिताका चुनौती र भविष्यको बाटो विषयमा छलफल सम्पन्न भएको छ । महोत्सवमा सहभागी हुन देशैभरबाट करिब ३ सय मूलधारका सम्पादक तथा प्रदेश ५ का प्रायः सबै जिल्लाबाट सञ्चारकर्मीहरू लुम्बिनीमा भेला भएको कार्यक्रम संयोजक दीपेन्द्र बढुवालले जानकारी दिए ।
उक्त छलफलमा मुख्य वक्ताका रूपमा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपाल, शिव गाउँले, वरिष्ठ पत्रकार मोहन मैनाली र नागरिक दैनिकका प्रदेश नं ५ ब्यूरोप्रमुख रेखा भुसाललगायतले बोलेका थिए ।
महोत्सवमा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्षहरू किशोर नेपाल, शिव गाउँले, विष्णु निष्ठुरी, वरिष्ठ पत्रकार मोहन मैनाली, सुवास ढकाल, शुभशङ्कर कँडेल, नारायण वाग्ले, रघु मैनाली लगायतको विषयगत प्रस्तुति रहनेछ ।
महोत्सवले नेपाल सरकारले आगामी वर्षका लागि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचारप्रसारमा टेवा पुर्याउने र प्रदेश नं ५ को मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रहरूको प्रचारप्रसारमा महत्वपूर्ण उपलब्धि हुने लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष नरेश केसीले बताए । रासस





























प्रतिक्रिया