बेत्रावती । राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको आर्थिक गणनाअनुसार नुवाकोटमा करीब नौ हजार व्यावसायिक प्रतिष्ठान (आर्थिक एकाइ) रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
तथ्याङ्क कार्यालय नुवाकोटका अनुसार आर्थिक गणनाको प्रारम्भिक नतिजाको दोस्रो चरणमा प्राप्त तथ्याङ्कअनुसार जिल्लाको १२ स्थानीय तहमा आठ हजार ७९४ औद्योगिक प्रतिष्ठान रहेको उल्लेख छ । नुवाकोटका औद्योगिक प्रतिष्ठानमा महिला १२ हजार ५६ जना र पुरुष १८ हजार ७३ गरेर कूल ३० हजार १२९ जना जनशक्ति आबद्ध रहेको तथ्याङ्क कार्यालयका प्रमुख नरेन्द्र भट्टले दिएका छन् । उनका अनुसार औद्योगिक प्रतिष्ठानमध्ये जिल्लाको सबैभन्दा बढी विदुर नगरपालिकामा र सबैभन्दा कम शिवपुरी गाउँपालिकामा रहेको छ ।
विसं २०७५ को वैशाखदेखि जेठ मसान्तसम्म (दुई महिना) गरिएको स्थलगत तथ्याङ्कअनुसार विदुर नपामा तीन हजार १०, बेलकोटगढी नपामा ९ सय ४९, दुप्चेश्वर गापामा ७ सय ६० तादीमा ५ सय ६४ सूर्यगढीमा ४ सय ४, किस्पाङमा ४ सय ९, म्यागङमा ४ सय ४ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेको छ । यस्तै तारकेश्वर गापामा ३ सय ९१ लिखुमा ५ सय ९४, पञ्चकन्यामा ३ सय ५७, शिवपुरीमा ३ सय ५२ र ककनीमा ६ सय व्यावसायिक प्रतिष्ठान रहेको तथ्याङ्क कार्यालयले जनाएको छ ।
आर्थिक गणनामार्फत पूँजीगत स्थितिका आधारमा आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानका वितरण, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार वैदेशिक पूँजीको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार आम्दानी, बिक्री र सञ्चालन खर्चको वितरण, संस्था दर्ता स्थितिअनुसार प्रतिष्ठानको अनुपात, वैधानिक स्थितिअनुसार प्रतिष्ठानको अनुपात, व्यवसाय सञ्चालन हुने समयानुसार प्रतिष्ठानको वितरणलगायतका विस्तृत विवरण छुट्याएको कार्यालयले जनाएको छ ।
“गणनामार्फत प्रतिष्ठानले ओगटेको भवन, जग्गाले ओगटेको क्षेत्रफलअनुसार विवरण, वित्तीय कारोवारमा (कर्जा) पहुँच हुने प्रतिष्ठानको अनुपातलगायतका सूचकसमेत उल्लेख गरिएको छ ।” तथ्याङ्क अधिकृत भट्टले भने, “स्थानीय तहअनुसार विवरण छु्याइएकाले अब पालिकामा पठाएर प्रतिष्ठानको विश्लेषणअनुसार नयाँ योजना बनाउन सुझाव दिइनेछ ।” राज्यले निकै मिहेनत र ठूलो लगानीमा तयार गरेको आर्थिक गणना नतिजाबाट मुलुकको आर्थिक अवस्थाको सूचकको विश्लेषण गरेर नयाँ योजना तथा कार्यक्रम सञ्चालनका लागि मार्गनिर्देशमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
आर्थिक क्षेत्रमा पहिलोपटक प्रतिष्ठानमा नै पुगेर सङ्कलन गरिएको विवरण सङ्घीयता कार्यान्वयनको चरणमा धेरै क्षेत्रका लागि महत्वपूर्ण मानिएको छ । रासस





























प्रतिक्रिया