दरबारमार्ग सामूहिक बलात्कार प्रकरण : प्रेमीलाई पाँच, अन्यलाई एक वर्ष कैद सजाय

दरबारमार्ग सामूहिक बलात्कार प्रकरण : प्रेमीलाई पाँच, अन्यलाई एक वर्ष कैद सजाय


डेढ वर्षअघि काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको छ ।

बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति समेत दिनुपर्ने  फैसला गरेको छ ।

पीडित भनिएकी युवतीका प्रेमी हुँ भन्ने कार्कीकै सहयोगमा काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमले पनि सामूहिक बलात्कार गरेको अभियोग थियो । अदालतले श्रेष्ठ र गौतमलाई १ वर्ष २ महिना कैद सजाय सुनाएको छ ।

२०७४ माघ ७ मा काठमाडौंको होटेल ल्याण्डमार्कमा आफूलाई तीन जना युवाले सामुहिक बलात्कार गरेको भन्दै एक युवती उजुरी दिन दरबारमार्ग प्रहरी वृत्त पुगेकी थिइन्। तर, वृत्तले उजुरी दर्ता नै नगरी आर्थिक लेनदेनमा घटना  मिलाएको कुरा बाहिरिएपछि उक्त काण्ड चर्चामा आएको थियो।

प्रहरी वृत्त, दरबारमार्गका तत्कालीन डीएसपी तिलक भारती र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीमाथि छानविन गर्न तत्कालीन एसपी रामदत्त जोशीको नेतृत्वमा समिति बनेको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले कार्कीसहित तीन जनाविरुद्ध २०७५ जेठ ४ मा मुद्दा दर्ता गराएको थियो ।

Logo