चीन–दक्षिण एशिया मैत्री सङ्गठन मञ्चको छैटौँ सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । दक्षिण एशिया र चीनबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्यले प्रत्येक दुई-दुई वर्षमा आयोजना गरिने उक्त सम्मेलन दोस्रो पटक नेपालमा आयोजना भएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सम्मेलन शुभारम्भ गरे । परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेलले दक्षिण एशिया र चीनबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको र यस्ता कार्यक्रमले सम्बन्धलाई थप मजबुत बनाउन सहयोग मिल्ने बताए । अन्य देशसँगको मैत्री सम्बन्धका लागि चोककिङ जनसङ्घ, चीन (सिपिएएफएफसी) का उपाध्यक्ष लिन यीले चीन विगतदेखि नै दक्षिण एशियाका देशसँगको हार्दिकपूर्ण सम्बन्धको पक्षमा रहेको बताए । यस्ता मञ्चहरूले जनतादेखि जनतासम्म पुग्न थप बढावा मिल्ने उनको भनाइ थियो ।
श्रीलङ्का–चीन सामाजिक तथा सांस्कृतिक सहकार्य सङ्घका अध्यक्ष इन्द्रानन्दा अबिसेकरले यस सम्मेलनले चीन र दक्षिण एशियाका नागरिक एक अर्कासँग घुलमिलको वातावरण बनेको बताए । सोमबार चीन र दक्षिण एशियाली देशका प्रतिनिधि काठमाडौँ आएका थिए । उक्त सम्मेलनमा आज कार्यपत्र प्रस्तुत तथा समूहगत छलफल गरिने र मङ्गलबार बिहान चन्द्रागिरि भ्रमण र दिउँसो पोखरामा सम्मेलनका बाँकी काम गरिने भएको छ । रासस





























प्रतिक्रिया