हडपेको जमीन भारतले फिर्ता गर्नुपर्ने भन्दै ‘सिमाना बचाउ अभियान’ नामक संस्थाले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
राजनीतिक वार्तामार्फत सरकारले कूटनीतिक पहल चाल्नुपर्ने अभियानका धनराज वास्तविकले बताए । “नेपाली जनताले सडकमार्फत गरेको आन्दोलनलाई भारतले सुन्नैपर्छ”, उनले भने, “जबसम्म भारतले हाम्रो कुरा सुन्दैन, हामी हाम्रो आन्दोलन कायम राख्छौँ ।” सुगौली सन्धिपछि भएको अतिक्रमणको जवाफ भारत सरकारले दिनैपर्ने र समयमै नेपालको भू–भाग फिर्ता गर्नुपर्ने उनले बताए ।
भारतको नयाँ नक्सामा नेपालको सीमालाई समेत आफ्नै भनेर राख्नु आफैँमा लाजमर्दाे रहेको भन्दै अभियानका सुशीला लामिछानेले सरकार यतिबेला मौन भएर बस्न नहुने बताइन् । उनले भनिन्, “जनकपुरमा भारतले आफ्नै सेना खटाउनु र नेपाली चेलीलाई समेत बलात्कार गर्नु निन्दनीय छ ।”
समाजसेवी, विद्यार्थी, सर्वसाधारणलगायतले समेत आन्दोलनमा सहभागिता जनाएका छन् । ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’ भन्ने उनीहरुको माग छ । रासस





























प्रतिक्रिया