सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं वरिष्ठ नेता वामदेव गौतमले सरकारले आगामी ३ वर्षलाई विकास र समृद्धिको वर्ष बनाउने उद्घोष गरेका छन् ।
भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै गौतमले ३ वर्षभित्र आम नेपालीको वार्षिक प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने दावी गरे । अहिले नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार २ सय डलर छ ।
गौतमले बितेका २ वर्ष सरकारले कानुन तथा नियम निर्माण र समृद्धिको जग बसाउने काममा खर्चिएको बताउँदै अब प्रत्येक महिना नयाँ नयाँ काम गरेर देखाउने दावी गरे । उनले ‘सम्मृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्ने दाबी गर्दै अबदेखि विकास निर्माणका काम परिणाम देखिने गरी सुरु हुने बताए ।
नेता गौतमले अहिलेसम्म सरकारले सोचेजसरी काम गर्न नसक्नुमा प्रमुख विपक्षी नेपाली कांग्रेसलाई दोष लगाए । कांग्रेसले कानुन निर्माणका क्रममा पाइला पाइलामा अवरोध गरेको तथा विकास र समृद्धिको अभियानमा साथ दिने रचनात्मक विपक्षी हुन नसकेको आरोप लगाए ।
‘बाँदरले आफू बस्ने घर बनाउदैन र अरूको पनि भत्काउँछ’ भन्दै गौतमले कांग्रेसको उछितो काढे । यसैकारण कांग्रेस सदैव प्रतिपक्षमै बसिरहने उनको भनाइ थियो ।
गौतमले भक्तपुर १ ख का नेकपा उम्मेदवार डिपी ढकाल मृत्यु जितेर आएको व्यक्ति भएको बताउँदै भने – ‘तपाईहरू डिपी ढकाललाई प्रदेश सभा सदस्य जिताएर पठाउनुहोस्, यो तीन वर्षभित्र उहाँलाई मन्त्री बनाउने जिम्मा हाम्रो भयो । त्यसैले अब सबैले भनौं, बल बल सूर्य, बल बल डिपी ढकाल ।’
भक्तपुरमा पूर्वएमालेले पूर्वमाओवादी ढकालको उम्मेदवारीप्रति असन्तुष्टि जनाएका बेला गौतमले अब नेकपामा कुनै समस्या नरहेको बताए ।
दुई वर्षअघि यो क्षेत्रबाट तत्कालीन एमालेबाट हरिशरण लामिछानेले जितेका थिए । उनको मृत्यु भएपछि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।





























प्रतिक्रिया