राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको सपथ गराएकी छन्।
सपथ ग्रहण समारोह राष्ट्रपति कार्यालय शितल निवासमा भएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो । कांग्रेस सरकारका पालामा नियुक्त प्रदेश प्रमुख हटाएपछि सत्तारूढ दलको सिफारिसमा सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त भएका थिए ।
प्रदेश प्रमुखलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्थाअनुसार मंगलबार शपथ गराइएको हो । शपथसँगै नवनियुक्त प्रदेश प्रमुखहरू कार्यक्षेत्रमा गएर काम गर्न सक्नेछन् ।





























प्रतिक्रिया