मेलम्ची,
सिन्धुपाल्चोकको आम्डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार बा ५ प ४९५४ नंको मोटरसाइकल दुर्घटना हुँदा पीपलडाँडा निवासी मोटरसाइकल चालक १९ वर्षीय अनिस कुँवरको ज्यान गएको हो ।
दुर्घटनामा घाइते कुँवरलाई थप उपचारका लागि धुलिखेल पु¥याउँदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
स्कारपियोको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
यता पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कारपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा १४ च ९८०६ नंको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको बा ६६ प ९३८४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बानियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा स्कुटर चालक २४ वर्षीय अमृत बानियाँ घाइते भएका छन् । मृत्यु हुने महिला आमा र घाइते युवा छोरा हुन् । स्कुटरलाई ठक्कर दिने स्कारपियो र चालक प्रहरी नियन्त्रणमा छन् ।





























प्रतिक्रिया