काठमाडौं,
निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउनु पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ । महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए। प्रहरीले २० दिन लगाएर अनुसन्धान प्रतिवेदन तयार पारेको हो।
महराले भने रोशनी शाहीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन् । ‘म रोशनीको निवास गएको हुँ तर कोठामा प्रवेश गरिनँ । फोन गरें, उठाइनन्’, महराले बयानमा भनेका छन्, ‘त्यसपछि फर्किएको हुँ।’ प्रहरीले महरामाथि अर्को प्रश्न गरेका थिए– ‘तपाईंले झन्डै डेढ घण्टा बिताउनु भएको बयान तपाईंसँगै गएका अंगरक्षकले दिएका छन्, यसमा स्पष्ट खुलाइदिनोस्।’ यसको जवाफमा महराले आफूले फोन मात्रै गरेको र २०–२५ मिनेट कुरेर बसेको बताएका छन् ।
रोशनीले चश्माको टुक्रा र जुत्ताको तलुवा ‘महराकै हो’ भनेर प्रहरीमा उल्लेख गरेसँगै प्रहरीले यसबारे महरासँग प्रश्न गरेको थियो । जवाफमा उनले ती वस्तु आफूलाई फसाउने षड्यन्त्र अनुरूप त्यहाँ राखेको बताएका छन् । उनी रोशनीको कोठामा पुगेर फर्किएपछि मदिराले लठ्ठिएका थिए । चश्मा लगाएर रोशनीको कोठा पुगेका महरा चश्मा नलगाई फर्किएको बयान अंगरक्षकले दिएका छन् ।
प्रहरीले बयान प्रमाणित गरेसँगै एक अनलाइनलाई रोशनीले दिएको अन्तर्वार्तालाई पनि प्रमाणका रूपमा लिएको छ। ‘हामीले बलियो प्रमाणसहित सरकारी वकिल कार्यालयमा मिसिल बुझाएका छौं’, स्रोतले भन्यो, ‘उहाँमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा चल्ने स्पष्ट प्रमाण छ।’
महराले आफू सार्वजनिक पदमै रहेका बेला त्यस्तो हर्कत गरेकाले प्रहरीले फौजदारी अपराध संहिता अन्तर्गत थप सजायको मागदाबीसमेत गरेको छ । रोशनी र महराबीच पटक–पटक भएका फोन संवाद र एसएमएसलाई पनि प्रहरीले प्रमाणका रूपमा जुटाएको छ। स्रोतका अनुसार उनलाई मुलुकी अपराध संहिता ऐन, ०७४ को बलात्कार प्रयास सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ। प्रहरी प्रतिवेदन अध्ययन गरी सरकारी वकिल कार्यालयले मुद्दा चलाउने वा नचलाउने भन्नेमा निर्णय गर्नेछ।
अन्नपूर्णबाट





























प्रतिक्रिया