‘एमसीसी देशको पक्षमा छ, कार्यान्वयन गर्नु पर्छ’ : ऊर्जामन्त्री रायमाझी

‘एमसीसी देशको पक्षमा छ, कार्यान्वयन गर्नु पर्छ’ : ऊर्जामन्त्री रायमाझी


काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् ।

मन्त्रालयका सचिव मधुसूदन अधिकारीले मन्त्रालयको काम कारबाहीबारे जानकारी गराएसँगै मन्त्री रायमाझीले लक्ष्य अनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन पनि दिएका छन् ।

हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौं तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौं, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनु पर्नेछ । मन्त्री रायमाझीले भनेका छन् ।

मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना पनि अघि सारेका छन् । उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्ने भन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।

यस्तै, सिंचाईको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । मन्त्रालयका सचिव मधुसूदन अधिकारीले मन्त्रालयको काम कारबाहीबारे मन्त्रीलाई जानकारी गराएका थिए ।

Logo