डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो

डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो

केन्द्रबिन्दु
0
Shares

बैतडी,

जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । यसअघि उनको धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो । बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत लैजानु परेको गौरीका श्रीमान् जगदिश जोशीले बताउनुभयो ।

गौरीलाई नेपालगञ्जमा उपचार गरी घर ल्यायँदै थियो । उनलाई बाटोमा असहज भएपछि थप उपचारका लागि भारत लगिएको हो । जगदिशका दाजु बिसनदत्त जोशीका अनुसार गौरीलाई उपचारका लागि भारत लगिएको र आफू उपचार खर्च जुटाउन घर फर्किएको बताउनुभयो । “उपचार गराउन खर्च अभाव भएको छ, मजदूरी गरेर खाने मान्छे उपचार गराउन कहाँबाट पैसोको जोहो गर्नु”, उहाँले भन्नुभयो ।

बिना सम्झौता सडक खनियोः नगरपालिका

दशरथचन्द नगरपालिकाले उक्त सडक खन्न आर्थिक वर्ष २०७४÷७५ मा चार लाख विनियोजन गरिएको र सो रकम बराबरको काम सम्पन्न भइसकेको जनाएको छ । हाल सो सडकका लागि बजेट विनियोजन नभएको र डिजाइन स्टमेट पनि नबनाएको नगरपालिकाले जनाएको छ । “योजना निर्माणका लागि नगरपालिकासँग सम्झौता भएको छैन”, नगरप्रमुख नरेन्द्रसिंह थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चालकसहित चार जनाविरुद्ध मुद्दा

गौरीलाई डोजर लगाएर हुत्याउने चालक किशोर बोहरा, डोजर मालिक भानीदत्त जोशी, स्थानीयवासी भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ । कात्तिक ४ गते चिलाउने–पार्स सडक खन्ने क्रममा डोजरले हुत्याउँदा गौरी घाइते भएकी थिइन् । सडक खन्ने क्रममा दुई पक्षबीच झडप हुँदा अन्य सात जना सामान्य घाइते भएका थिए । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ ।

Skip This
Skip This
Logo