बारा,
हिन्दूहरुको महानचाड दशैँ सकिए लगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् ।
तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रोनगढ, कचौर्वा लगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफनो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको छ ।
कयारियरवालाहरुले भारतको रक्सौल लगायतका भारतीय बजारबाट ती पटका वीरगञ्ज, कलैया लगायतका नेपाली बजारसम्म पु¥याए बापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पु¥याएबापत अधिकत्तम २०० सय प्रतिशतसम्म लिने गरेको वीरगञ्जस्थित मीनाबजारमा भेटिएका एक तस्करले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।
ती कयारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न समान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् । अति प्रज्वलनशील पदार्थको रुपमा रहेको पटका नेपाल भित्रिने गरेको बारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीहरुले भेटाएसम्म पटका भने समात्ने गरेको दाबी गर्दै आएका छन् । खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन जीप, कार, टागा जस्ता गाडीमा पटका लुकाइछिपाई ल्याउने गरेको देखिन्छ ।
यता प्रहरीले करीब ५० हजार बराबरको पटाकासहित दुई जनालाई सिरहाबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीको टोलीले पटकासहित भारतीय सिमावर्ती क्षेत्रबाट सिरहाको भगवानपुर गाउँपालिका निवासी २६ वर्षीय अनिलकुमार चौधरी र २० वर्षीय रोहित साहलाई पक्राउ गरेको हो ।
यस्तै प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित पुरानो बसपार्कबाट तीन बोरा अवैध सुर्ती बरामद गरेको छ । भारतबाट नम्बर प्लेट नभएको रातो रङ्गको ग्ल्यामर मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले अवैध सुर्ती बरामद गरेको हो । प्रहरी टोलीलाई देखेपछि तस्करहरू सामान छाडेर फरार भएकाले पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ ।





























प्रतिक्रिया