अघिल्लो वर्षभन्दा चाँडै बढ्यो चिसो

अघिल्लो वर्षभन्दा चाँडै बढ्यो चिसो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,
काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ । दसैं लगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा छिट्टै चिसो बढेको हो ।

मौसमविद् मीनकुमार अर्यालले वायुमण्डलको प्रभावका कारण चिसो बढेको बताए । ‘धुवाँधुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको हो,’ उनले भने । अघिल्लो वर्ष ३ कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहेकामा यसपटक १४ डिग्रीमा झरेको छ ।

‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो,’ उनले भने, ‘तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुनेछ ।’

‘अबको केही समयमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ,’ मौसमविद् अर्यालले बताए । केही दिन यता उपत्यकासहित देशभरको तापक्रम घट्दो रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार र मंगलबार थोरै समयका लागि मात्र घाम देखिने महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए । नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम तापक्रम घट्ने क्रममा रहेको उनले बताए । ‘अरब सागरबाट नेपाल बहने पश्चिमी जलवाष्पयुक्त हावाले तत्काल ठूलो वर्षाको सम्भावना भने छैन,’ उनले भने ।
राजधानीबाट

Logo