बिरामीको मृत्युपछि अस्पताल तोडफोड

बिरामीको मृत्युपछि अस्पताल तोडफोड

केन्द्रबिन्दु
0
Shares

चितवन,

चितवन मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आइतबार दिउँसो तोडफोड गरेका छन् । सो क्रममा भीड तितरवितर गर्न प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार मृतकका आफन्तले अस्पतालमा ढुङ्गा प्रहार गर्न थालेपछि अश्रुग्याँस र लाठीचार्ज गरेर भीडलाई तितरवितर पारिएको हो । सो क्रममा केही प्रहरी सामान्य घाइते भएको उहाँले बताउनुभयो । प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गाले अस्पतालको अगाडिको शिसा फुटेको उहाँले जानकारी दिनुभयो ।

नवलपुरको कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा मृत्यु भएको थियो । कलेजको लापरवाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ । मृतक आशाका श्रीमान् पुकनारायण ज्ञवालीले अस्पतालको लापरवाहीका कारण आफ्नो श्रीमतीको ज्यान गएको बताउनुभयो । डाक्टरको सल्लाह अनुसार नै नाकको शल्यक्रिया गर्न अस्पताल आएको मृतकका श्रीमान् पुकनारायणले बताउनुभयो ।

दुई महिना अघि चिकित्सकले दिएको सल्लाह अनुसार नै गत असोज २६ गते आशालाई अस्पताल ल्याइएको थियो । शल्यक्रिया अघि सबै परीक्षण गरेर २७ गते बिहान करीब ९ बजे तिर शल्यक्रियाका लागि अस्पताल लगिएको थियो । अस्पतालले शनिबार अपराह्न करीब ४ बजे आशाको मृत्यु भएको भनी जानकारी गराएको थियो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालले बिरामीको मृत्युपश्चात अस्पतालले समिति गठन गरी अनुसन्धान शुरु गरेको बताउनुभयो । मृतकका परिवारले शल्यक्रियामा संलग्न चिकित्सकको इजाजतपत्र खारेज र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आएका छन् ।

Skip This
Skip This
Logo