काठमाडौं ।
राजधानीको सभ्यताको स्रोत वाग्मती नदीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाहीस्वरुप २३ हजार जरिवाना गरिएको छ ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, वाग्मती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने, बाटो कब्जा गरी व्यापार व्यवसाय चलाएर सार्वजनिक स्थान कब्जा गर्नेलाई नसिहतसहित दण्ड जरिवाना गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
मनोहरा दोभानबाट आलोकनगरसम्म फोहर फाल्ने राजकुमार शर्मा एक हजार, मीना केसी रु पाँच हजार, बेखालाल तण्डुकार रु एक हजार, दीपेन्द्र बस्नेत रु पाँच हजार, रत्नकाजी श्रेष्ठ रु पाँच हजार, सुमन इन्टरप्राइजेज रु पाँच हजार, कुकुर क्याफे रु एक हजार गरी जम्मा रु २३ हजार जरिवाना गरिएको छ । जरिवाना गरिएको रकम महानगरपालिका वातावरण व्यवस्थापन विभागलाई हस्तान्तरण गरिएको सफाइ महाअभियानले जनाएको छ ।
वाग्मती सफाइ महाअभियानको ३९८ औँ हप्तामा वाग्मती मनोहरा दोभान आर्ट अफ लिभिङले बनाएको बगैँचा अघिको शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । प्रमुख अभियानकर्मी, पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्याल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्वव तिमिल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठसहितको सफाइमा सक्रियता थियो । सशस्त्र प्रहरी टोली, अभियानकर्मी लगायतले १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
फोहरको मूल स्रोतमै न्यूनीकरण गनुपर्ने, फोहरलाई वर्गीकरण गरी फाल्नै पर्नेलाई मात्रै फालौँ, फोहरलाई मोहर बनाउनु पर्नेमा पनि अभियानकर्मीले जोड दिएका छन् । अर्को शनिबार बिहान ८ बजे ३९९ औँ हप्ताको सफाइ बानेश्वर क्याम्पस अघिको नदी किनारमा सफाइ गरिने जनाइएको छ ।
वाग्मती नदी तिलगङ्गा खण्ड सफाइको २७९ औँ हप्तामा महिला समूह र बतास फाउन्डेशनले यस क्षेत्रमा सफाइ गरेका छन् । जनचेतनामूलक कार्यक्रमसँगै नदीको फोहरसमेत उठाएर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिइन् ।
मनोहरा सफाइको १९७ औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित जडीबुटी–मनोहरा कृषि बजार अघि सफाइ गरिएको छ । सत्तरी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा दुई गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।
यसैगरी राजधानीका गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, उत्तर र पश्चिम क्षेत्रको चक्रपथ लगायत स्थानमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर १०६ स्थानमा सफाइ अभियान शुरु भएको छ । कोरोना महामारीका कारण नदी किनारमा निवास भएका अभियानकर्मीले नदीमा गएर र अरुले टोल सफाइ अभियानलाई निरन्तरता दिएका छन् ।रासस





























प्रतिक्रिया