म्यानमार,
म्यानमारको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका स्टेट काउन्सिलर आङ सान सुचीको उपस्थितिमा बिहीबार दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । म्यानमारको राजधानी नेपितस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तिनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो ।
दुई राष्ट्रपतिबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति विन मिन्तबीच बिहीबार नै प्रेसिडेन्सियल हाउसमा भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । त्यस अघि बिहान सो हाउसको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यानमारको सेनाले सम्मानगारद (गार्ड अफ अनर) दिएको थियो । राष्ट्रपति भण्डारी म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यानमारको राजधानी नेपित आइपुग्नु भएको थियो । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सुचीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो ।
यसैबीच राष्ट्रपति भण्डारी र प्रतिनिधिमण्डलको सम्मानमा राजधानी नेपितस्थित प्रेसिडेन्सियल हाउसमा आयोजित राजकीय भोजमा म्यान्माली राष्ट्रपति विन मिन्तले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको ऐतिहासिक म्यानमार भ्रमणले दुई देशबीचको सम्बन्ध अझ माथि उठाउने बताउनु भएको छ ।
राष्ट्रपति भण्डारीले प्रत्युत्तर मन्तव्यका क्रममा आफूले गौतम बुद्धको जन्मभूमिबाट न्यानो माया र शुभकामना लिएर आएको बताउँदै बुद्धका सन्देशले मानिसको जीवनपद्धतिलाई नै मार्गनिर्देशन गरेको स्पष्ट गर्नुभयो ।
मिलेर अघि बढ्ने प्रतिबद्धता
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयदेखि नेपालबाट राष्ट्रप्रमुख तहमा म्यानमारको राजकीय भ्रमण नभएको परिप्रेक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणबाट दुई देशका जनस्तर तथा सांस्कृतिक सम्बन्ध एवं ६० वर्ष लामो दौत्यसम्बन्ध प्रगाढ बनाउने उद्देश्य रहेको बताउनु भएको छ ।
गोरखापत्रबाट































प्रतिक्रिया