पक्राउ पुर्जीबारे सांसद् पार्वत गुरुङ भन्छन्, ‘त्यो पुरानो स्थानीय तहकै केस हो’

पक्राउ पुर्जीबारे सांसद् पार्वत गुरुङ भन्छन्, ‘त्यो पुरानो स्थानीय तहकै केस हो’


  • कृष्णसिंह धामी ।

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफुविरुद्ध पक्राउ पुर्जी जारी भएको स्वीकार गरेका छन् । दोलखाबाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य गुरुङले आफुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको स्वीकार गरेका हुन् ।

ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको थियो । वीरध्वज खड्काको जाहेरीमा २९ वैशाख ०७६ मा काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो ।

२०७६ भदौं १२ मा काठमाडौं जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई गुरुङलाई अदालतमा उपस्थित गराउन भन्दै पत्र काटेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय दोलखाले इलाका प्रहरी कार्यालय सिंगटीलाई अदालतको पत्र पठाएको थियो । उक्त पत्र दोलखाको गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयंबहादुर खड्काले गउँपालिकाको छाप लगाएर असोज ८ मा बुझेका थिए ।

सांसद गुरुङले सांसद गुरुङले आफूमाथि पक्राउ पुर्जी जारी भएको स्वीकार गर्दै भने, ‘ए त्यो पुरानो स्थानीय तहकै केस हो । त्यसलाई राजनीतिक मुद्दा भन्दा हुन्छ । त्यसबेला काठमाडौं प्रहरी कार्यालयमा सांसद पार्वत गुरुङ नभनेर एउटा सामान्य नागरिकका रूपमा पूर्वमाओवादीले राजनीतिक पूर्वाग्रहका हिसाबले मुद्दा दर्ता गराउनुभएको रहेछ ।’ सांसद गुरुङले भने, ‘अहिले मैले त्यसलाई सहज रूपमै लिएको छु ।’

३५ दिनको पक्राउ पुर्जी जारी भएकाले म्याद भित्रै आफुले बुझेर अदालतमा उपस्थित हुने उनको भनाई छ । ‘गाउँपालिकाका अध्यक्ष ज्यूले पुर्जी बुझ्नु भएको छ । उपयुक्त समयमा अदालतमा हाजिर हुन्छुँ । स्थानीय तहको पुरानो विषयलाई अहिले निकै ठूलो बनाउन खोजिएको छ ।’ उनले भने ।

दोलखा प्रहरी प्रमुख डिएसपी मानबहादुर राईले गुरुङका नाममा ’म्याद तामेल’ गरेको जानकारी दिए । काठमाडौं जिल्ला अदालतमा ३५ दिनभित्र हाजिर हुने म्याद तामेल गरिएको डीएसपी राईको भनाई छ ।

सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । ०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो । त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट तत्कालिन एमाले उम्मेदवार बनेका गुरुङ सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । गुरुङले कुल सदर मतमध्ये ५५ हजार ९५४ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका थिए । गुरुङ र खड्काको मतान्तर ३० हजार १५३ रहेको थियो । उनी सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए ।

Logo